शाश्वत बिमोचन

Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Friday, December 1, 2017

कालो पर्दा भित्र

दस एघार बर्षको जस्तो देखिने एक बालिका बस स्टेशनमा देखिइन् ।गहुँगोरी, चटक्क मिलेको अनुहार। उनले लगाएको मैलो लुगा उनको रुप अनुसार मेरो आँखामा सुहाएनन् । यिनी स्कुल जाने केटी हुनुपर्ने, बिहानको नौ बजेर पनि केही समय बितिसक्यो ,स्कुल सुरु हुने बेला नि हुन लाग्यो तर यिनी किन यो पहिरनमा ? मनमा अनेकौं प्रश्न उब्जिदै थिए, एउटा भ्यान आउने बित्तिकै उनी उठेर त्यसमा चढिन् ।उनी भ्यानको पछाडीबाट चढ्न लाग्दा त्यसमा लगाइएको कालो पर्दा केही हटेको थियो । भित्र त्यस्तै थुप्रै बालबालिका कोचिएर बसेका रहेछन् ।उनी मुस्किलले अप्ठ्यारो संग कोचिएर बसिन् ।लगत्तै कालो पर्दा लाग्यो र गाडि हुइकियो ।
मेरो मनमा प्रश्नको बाढी आइरह्यो ।
तिनी को होलिन् ?
त्यसरी कहाँ जान्छिन् ?
किन जान्छिन् ?
त्यो कालो पर्दा ??
चार पाँच महिना अगाडि घटेको त्यो घटना मलाई कत्ति चित्त बुझेन ।अहिलेसम्म पनि बेलाबेला त्यो सम्झेर मनमा कुरा खेलिरहन्छ । जब आफ्नै मन संग चित्त बुझ्दैन म बिचलित महसुस गर्छु ।
साँच्चै म कति असहाय हुन्छु !
तिनि त स्कुल ड्रेस लगाएर, किताबको झोला बोकेर स्कुल बस चढ्नु पर्ने ।यो मेरो मनले मागेको दृश्य थियो तर वास्तविक दृश्य पुरै फरक थियोे ....
मेरो मनले "यस्तो हो" भनेर निर्क्योल गरेको कुरा जब "यस्तो होइन" भनेर स्विकार्नु पर्छ, त्यतिबेला असाध्यै पिडाबोध हुन्छ ।
किन किन, म कोहिजस्तो पनि हुन सकिन ......
आजभोलि सबैभन्दा बढी यही कुरा खेलिरहन्छ मनमा ।
सायद म संग कोहि पनि खुशी छैनन् । मेरो साथ र उपस्थिति धेरैले आफ्नो कल्पनाबाट झिकिसके होलान् ।
धेरैले रमाइलो महसुस गर्ने खाने पिइने जमघटमा मलाई उकुसमुकुस हुन्छ ।
कलकल बगिरहेको खोलाको पानी हेर्छु, त्यहाँ हरेक जलबिन्दु एक भएर एकै आवाजमा बगेका छन् । म जस्तै हुलहरुमा नअटाएको अंश न त पानीको बहावमा भेटेँ न त बादलको एकतृत बेगहरुमै ।
मैले कयौं बाटोहरु हिंडे । कहिल्यै नहिडेका र अब कहिल्यै पाइलाहरु नपर्ने बाटोहरु प्रशस्तै हिडिएका छन् म बाट  ।
कयौंपटक हिंडिएका बाटोहरु फेरिंदो समयक्रममा बिरानो भैसके ।
यी स्वप्निल संसारका स्वार्थहरु सायद नब्युँझिकन मर्नेछ्न् ।
मैले जति कुरा पढे ती करिब-करिब भुलिसके ।
म जे हु भन्थें अब आफैलाई थाहा भैसक्यो म त्यो होईन ।
बाँच्न बाँकी जिन्दगिको लागी जहिल्यै पनि नयाँ पढाई चाहिन्छ ।
लाग्छ म यस्तो बिन्दुमा छु, मलाई कसैले सुम्पेको अतीत मैले लिँदै लिइन ।भबिस्य मैले कहिल्यै पाउन सकिन ।
यसरी हर भोगाई तटस्थ र शुन्य परिवेशबाट गुज्रिरह्यो ।
मेरो लागि म डुब्दै डुब्दै भावनाको यो "मारियाना ट्रेन्च" सम्म आइपुगेँ  जहाँ अरु यो गहिराई सम्म आउने कल्पना पनि गर्दैनन् ।
आफुलाई छुन नसक्ने अनेक बिलौनाहरु म सुनिरहन चाहन्न ।
आँखाहरु बिजाइरहने यो धुलाम्मे दृश्यहरु म हेरिरहन सक्दिन ।
यदि मलाई पुग्नुपर्ने ठाँउ थाहा छ भने ती बाटोहरुमा सहि र सरल बाटो बताइदिने धेरै जना भेटिनेछन् ।
म गन्तव्य बिनै हिंडे भने त्यहाँ भेटिनेहरुले धेरै बाटोहरु मात्रै बताइदिनेछन् ।
मान्छेहरु असाध्यै ज्ञानि हुन्छन् यदि "ज्ञान" आफूसंग छ भने ।
मान्छेहरु असाध्यै मायालु हुन्छन् यदि "माया" आफूसंग छ भने ।
आफूसंग नभएको कुरा जब अरुमा खोज्न पुग्छु अनि अरुसंग पनि त्यही शुन्यता मात्रै पाँउछु ।
म समयको कालो पर्दा भित्र बसेर यो कष्टकर अनौठो यात्रा गर्दैछु र ती बालिका अझ अर्को कालो पर्दा भित्र छिन् । उनको जीवन भोगाई झन् कति गहिरो होला ??
यी  पर्दाहहरु भित्र रहेर यात्रा गरिरहेका हामी दुबै अपरिचित यात्री अलगअलग स्टेशनमा रोकिंदै जानेछौं ।
र ,हामी दुबैलाई थाहा छैन यसरी कहाँ सम्म पुग्नेछौं...!!

Monday, October 16, 2017

साथिको यादमा...

म मेरो प्रिय साथिको यादमा रुँदै छु,
तिमी किन गिज्याइरहेछौ, बादल ?
के मेरो जस्तै तिम्रो पनि:
सपना चुडिएको छ ?
साथ छुटेको छ ?
हाँसो खोसिएको छ ?
छैन भने अब यो लोलि नमिलाउ ।
म एक्लै रुन्छु ।
हे साउन ! मेरो जिन्दगीको मौसम तिमी बिनै पुर्ण छ ।
बिन्ती तिमी अब कहिल्यै-कहिल्यै नआउ ।

म मेरो अनन्य यारलाई बोलाइरहेछु,
घाम डुब्न पनि नपाउदै, तिमी किन कराउँछौ, झ्याउँकिरी?
के तिमिमा पनि मेरो जस्तैः
बिछोडको पीडा छ ?
हृदयमा क्रन्दन छ ?
असहाय भावना छ ?
मनभरी छट्पटी छ ?
छैन भने, म मेरो सामर्थ्यले चिच्याउँछु, तिमी नरोक ल !
आज मेरो आवाज उसको आत्माले सुनोस् ।

म मेरो प्रिय मित्र भेट्न चाहन्छु ।
बित्थामा तिमी किन दौडिन्छौ, त्रिशुली गङ्गा ?
के तिम्रो साथी पनि टाढाको "पैसा फल्ने देश"बाट हराएको छ?
के तिमिलाई पनि आफ्नो साथिको अङ्गालोमा कस्सिन मन छ ?
के तिमिलाई पनि आफ्नो दोस्तिसंगै  बिताएका एक-एक पल याद छ?
छैन भने, भो नबग यसरी लक्ष्यहीन भएर ।
मेरो स्मृती यात्रा तिमी बेस्सरी सुसाउँदा झन बिचलित हुन्छ ।

मेरो प्रिय साथी, मेरो धड्कन !
कहाँ छौ तिमी ?
मलाई यसरी एक्लै छोडेर गयौ ?
तिमी त खरानिका कणहरु बनेर छालहरुमा बगेर गयौ ...
धुवाँका ज्वालाहरुमा उहीँ र उस्तैगरि हाँसेर गयौ....
तिमी कति निष्ठुरी ?
यहि हो तिम्रो धर्म ?
आज तिमी नअटाएको यो संसार पुरै रित्तो छ ।
यो अबिछिन्न बग्ने आँसुहरु संगै
यो एक एक कुन्ठित सपनाहरुका साथ
यो अमिट अनन्त यादहरु भोग्न
मट्टीतेल सकिएको टुकीको लुँडो
म कतिन्जेल उकासुँ ?
मेरो प्रिय साथी , एकचोटि त भन ..


Friday, June 16, 2017

अभिभावकको बुझाई, सन्तानको पढाई

बाबुआमाले आफ्नो थालमा खान राखेको दुई दुई गाँस भात खटाएर राख्छन् यो सोचेर कि "छोरा पढेर आउँदा भोकाउछ, खाजा हुन्छ" ।
कति अलौकिक ! बच्चाको पढाई प्रती अभिभावकले आफ्नो भोक बिर्सन्छन् ।
आफ्नो सबै गहना बैंकमा राखेर एउटि आमा केही ऋण झिक्छिन् यो सोचेर कि "छोरिको पढाई राम्रो भयो भने उनको भबिस्य सुखद्  हुन्छ" ।
वा ! सन्तानको पढाईको लागि अभिभावक कति सजिलै आफ्नो सौर्न्दर्य उतार्छन् ।
गरिखाने खेतबारी दाउमा राख्न तयार हुन्छन् बाबुआमा, यो सोचेर कि "आफ्नो छोराछोरी इच्छित बिषय पढेर प्रतिष्ठित होउन्" ।
अपबाद नै होला सम्पत्तिको लालचालाई पनि पढाईले सर्लक्क छोपिदिन्छ ।
दिनभरी गिट्टी, बालुवा र सिमेन्टमा साबेल धसेर काम गर्ने ज्यामी होटेलमा सकेसम्म चुँडेर साहुनीले दिएको आधा प्लेट चाउमिनमा चित्त बुझाउछ, यो सोचेर कि "एक प्लेट खायो भने छोराको 'फि' तिर्ने पैसा बच्दैन" ।
यस्तो लाग्छ, पढाईको लागि दाँजिने अर्को कुनै चिज छैन ।
माध्यमिक शिक्षा परिक्षाको नतिजा संगै उब्जिएका विचारहरुले धेरैलाई उकुसमुकुस बनाएको होला भन्ने सोच्दैछु म । कोहि आफ्नो बिगत सम्झदै होलान् , कोहि भबिस्यको तानाबाना बुन्दै होलान् त कोहि प्रयास र उपलब्धिको समिक्षा गर्दै होलान् ।
कतै खुशी, कतै दुखी अनि कतै दुबिधा होला सायद ।समयको प्रभावलाई  समयले नै भएसम्मको अनुकुल बनाउदै लैजान्छ भन्ने मेरो बुझाई हो ।
विद्यार्थीहरु संगको प्रत्यक्ष सम्बन्ध छुटेसंगै म अभिभावकहरुको सामीप्यमा रहेँ  । आफू शिक्षक हुँदा विद्यार्थी मात्रै सोचिएछ भन्ने ज्ञात बल्ल हुँदैछ ।
आफ्नो बालबच्चाको तारिफ गर्न बाबुआमाको ओठबाट धाराप्रबाहसंग शब्दहरु कसरी निस्कन्छन् भन्ने मैले कहिल्यै आँकलन नै गरिनछु । छोरा छोरिले पढेनन् भन्ने आमाबाबुको सधैं गुनासो हुन्थ्यो । कुनै न कुनै रुपमा म आभिभाबक लाई गुनासो मेसिन सोच्थेँ  जुन एकतर्फी र पक्षपातपुर्ण रहेछ भन्ने आज महसुस गर्दैछु ।
तिम्रो मातापिताले तिम्रो कति धेरै प्रशंसा गर्नुहुन्छ भनेर मैले कोहि विद्यार्थीलाई भन्न सकेको भए उ कति खुसी हुन्थ्यो होला, कति हौसिन्थ्यो होला ?
कहिलेकाहीँ सिकाई ढिलो प्राप्त भएकोमा ननिको लाग्ने रहेछ ।
सांसारिक जीवनमा 'सन्तान सुख' सबैभन्दा ठुलो 'सुख' हो भनिन्छ  र त्यो सुख अब निरपेक्ष रुपले सन्तानको पढाईले निर्धारण गर्न थालेको छ ।
सन्तानको गल्ती र कमजोरीहरु कति राम्रो संग ढाकिदिन्छ्न् अनि सत्कर्म र सफलताहरु कति राम्रो संग प्रकट गरिदिन्छन् आमाबुबाहरु । यसको अर्थ सकारात्मक पाटोलाई बुबाआमले कसरी मलजल र टेवा दिन्छन् भनेर रचनात्मक रुपले शिक्षकले बालबालिकाहरुलाई बुझाउनु पर्छ भन्ने देख्दैछु ।
अबश्य पनि 'पढाई' सुख,समृद्धि र स्वाभिमानी जीवनको दिब्यज्योति हो अनि त्यो प्राप्तिको लागि प्रत्येक विद्यार्थीलाई तिनका अभिभावकले हरपल अतुलनीय बलिदान गरिरहेछन् भन्नेकुरा उदाहरण सहित बुझाउन कतै छुटेको पो छ कि ?

Sunday, September 11, 2016

मेरो बुद्दत्व

नुवाकोटको एउटा गाउँमा छु, जहाँ म जन्मिएँ ।
प्रकृतिमा ग्रिष्म ऋतुको छनक चरम चुलिमा पुगेको छ । यसपालिको डडेलोले वनमा भुइँका पत्कर र घाँसहरु डडाउने मात्र होइन, बसन्ति पालुवाहरुलाई पनि नराम्ररी डामेछ । आगोले डामेका पातहरु झरेर नयाँ पातहरु सकि-नसकि पलाउन खोज्दै छ ।
विश्वेश्वर प्रसाद कोइरालाले 'नरेन्द्रदाइ' मा लेखेको एक हरफ याद आयो- 'काटेर घाउ लागेको रुख पनि त हरियो हुन्छ नि यदी त्यसमा बाँच्न पुग्ने रस बाँकी छ भने......'
सायद त्यही रस बाँकी थियो होला र त यी जङ्गलका रुखहरु फेरी हरियो हुने चेष्टा गर्दैछन् ।
फाट्टफुट्टको बर्षातले होला, त्रिशुली नदि केहि धमिलिएको छ । किनारै छोपिने गरि बैंश नभरिएकोले होला नदिको बहाब मन्द र शान्त देखिन्छ । अनादि कालदेखि आफ्नै भङ्गीतको रफ्तारमा सतत बगिरहेको यसले कयौं मानिसहरुको अन्तिम सँस्कारको साक्षी बनेर चिताको खरानी पखाल्यो । आफ्नै जिवनदेखी हारेर कहिल्यै नफर्कन चाहने कतिपयहरुलाई सदाका लागि आफुमा बिलय गरायो यसले । र, यो क्रम निरन्तर अझै जारि छ ।
पोखरे फाँटका गराहरुमा मकैका धानचमराहरु निस्केका देखिन्छन् । सुत्ला च्याप्ने तरखर गर्दै होलान् सायद तिनिहरु । टारिका पाटाहरुमा भर्खर चार-पाँच वटा पात हालेका मकैका बिरुवाहरुले भुँई पनि छोप्न सकेका छैनन् । म सानो छँदा मेरा अग्रजहरुले सुनाउँथे- पहिला-पहिला मकैका चमराहरुमा पुष्ट धान फल्थ्यो रे अनि घोगाभित्र सुनका दाना । पछि मान्छेहरु पापि हुँदै गए रे अनि चमरामा धानको सट्टा भुसमात्र फल्न थाल्यो रे र घोगाभित्र सुनको सट्टा मकैका दाना । मान्छेहरु अझै पापी हुँदै गए भने अब त्यो घोगाभित्र पनि कालोपोके फल्छ रे । 'यि, हेर् ! कुनै-कुनैमा कालोपोके फल्न सुरु गरिसक्यो' भनेर देखाउँदा म बडो आश्चर्यचकित भएर हेर्थें ।
मकैको बोटमा धान र सुन फल्ने कुरा त्यतिबेला मेरो कल्पनाको यो 'साम्यबाद' थियो जसलाई आज खुङ्खार कम्युनिष्ट भनिएका पार्टीहरुले 'बर्ग बिहिन समाज' र 'स्वर्ग' भनेर ब्याख्या गर्छन् ।
समयले बाँकटे हानेर कहाँबाट कहाँ पुर्याइसक्यो र पनि जताततै उस्तै देखिन्छ मान्छेहरुका आ-आफ्ना अनुपम जिजीबिषाहरु । आफ्नै जिवन दर्शनको क्यानभाषमा राखेर हेर्दा यी सजिव सवालहरु सधैं बिलक्षण लाग्छन् मलाई ।
भुकम्पले एउटै थुप्रो बनाइदिएका घरका संरचनाहरु अझै ठडिन सकेका छैनन् । सायद सरकारी राहात पर्खिरहेका होलान् कि ! भग्नावशेष हेर्दा अझै आहत् हुन्छन् यी मनहरु । पोहोरको भुकम्पमा माउ गुमाएको गाईको बाच्छो हेर्दै जिङरिङ्ग र ख्याउटे छ । आँखाहरु अझै रसिला छन्, त्यसका । भत्केको गोठबाट मृत माउ निकाल्दा दुधे आन्द्रो फुलाएर खुब रोएको थियो त्यो । अलि तल खाडल खनेर माथिबाट मृत गाई गुल्ट्याउँदा गाईको बडेमानको भरिलो कल्चौंडोमा झरिला थुनहरु माथितिर फर्केका थिए ।
बिचरा बाच्छो, अभागी रहेछ, घाँस खान नजान्दै आमा गुमायो, मोरो टुहुरो । भन्नेहरु 'भाग्यले बाँचेको यो' भन्छन् , यसरी बाँच्नु पनि 'भाग्य' रे !!
गाउँ सुनसान छ भन्ने कुरा बजार सम्म जाने र आउने गोरेटो बाटोले नै बताईदिन्छ । ति गोरेटोहरुमा बलिष्ठ पाउहरुको छाप कतै देखिदैन । बाटोभरी लेउ र झ्याउ लागेको छ, केहि बुढा-बुढिले आक्कल झुक्कल हिडेर बाटोले के टेर्थ्यो ?
राजकुमार सिद्दार्थ गौतमले दरबार बाहिर निस्केर हेर्दा मान्छेहरु दुखी, रोगी, भोको र के-के देखे रे । र, यसको कारण खोज्न दरबार छोडेर हिडेका थिए रे । उनी बुद्दत्व प्राप्त गरेर बुद्द भए । म त भोक, रोग आदि देखेर मात्र होईन, भोगेरै घर छोडेर हिडेको थिएँ । खालि खुट्टा हिडेर स्कुल पढ्न सुरु गरेको मैले खालि खुट्टा हिडेरै स्कुल पढ्न आएकाहरुलाई पढाएर घर फर्किएँ । बुद्दत्व प्राप्त नगरे पनि सिकाईको यौटा चक्र मैले पक्कै पूरा गरें । मेरो भोक, रोग ईत्यादिको अचुक बुद्दत्व भनेको केवल 'डिग्री हासिल गर्नु' भन्ने थियो । खालि हात, खालि खुट्टा र खालि पेटमा देखेको त्यो सपना आज साकार भैसकेको छ ।
स्मृतीका लहरिहरुमा यस्तो प्राप्तिले पनि लामो सन्तुष्टिको निश्वास तरङ्गीत गराउँदो रहेछ ।
गाउँ जति शान्त छ, उतिनै बेचैन पनि । गाउँका दाइभाइहरु खोज्न कि शहर जानुपर्छ कि त खाडिमुलुक । आमाको लाम्टो चुसेर अघाउन नसकेपछी, भोको पेटले छट्पटिएर चर्न निस्केका । दीदिबहिनिहरु आफ्नो प्रारब्धको लेखो शिरोधार्य गर्दै पराईघर गैसके । पोईले बिदेशबाट दुई चार पैसा कमाएर पठाउने भएपछी तिनका जोईहरुले शहर बजारमै डेरा लिेएर आफ्ना केटाकेटीहरु निजी स्कुलमा किन पढाउँदैनथे र ? अब बाँकी तिनै बुढाखाढा रहे । तिनिहरुको जाने ठाउँ नै पो कहाँ छ र ? मलामी पाएछन् भने त्रिशुलिको घाट सम्म पुगेर अलबिदा होलान्, नपाए त्यो अकल्पनिय दुर्दशा म कसरि कल्पुँ ?
सम्झनाका तरेलिहरुमा तिनै दाइ दीदिहरु स्कुल पढ्न जाँदाका यादहरु ताजै छन् । स्कुल बाट फर्कंदा गाउँका दाइ दीदिहरु बजार नजिकै राखेको बिजुलिको बलिया खम्बा आफ्ना कलिला काँधमा हालेर उकालो लाग्थे, गाउँमा बिजुलि बाल्ने उत्कट अभिलाषा राखेर । म निक्कै नै सानो भएकोले उनिहरुको किताब कापि बोकिदिन्थें । त्यहि चौध पन्ध्र बर्षे अल्लारे जोस र अठोटले गाउँमा बिजुलि बल्यो । र, त्यसरि त्यस्तो मुर्ख्याइँ नगरेको भए आज यी बा आमाहरु टुकिको लुँडो उकास्दै हुन्थे वा दियोमा तेल थप्दै नियतिको कठपुतली भएर अँध्यारोमा खेलिन्थे । त्यो जाज्वल्य जाँगरले निरन्तरता पाउने सुअवसर पाईरहेको भए गाउँमा मोटरबाटो उहिल्यै आईसक्थ्यो ।
करोडौंको श्रमशक्ति कौडिको भाउमा बेच्न बिबश भएकाहरुलाई कति जलन हुँदो हो आफ्नै आदर्शको अस्मिता जोगाउन नसकेर ? कहाँ-कहाँको मरुभुमि उजिल्याईरहँदा आफ्नै स्वर्ग उजाडिएको सम्झेर कति आल्हादित् होलान् ती मनहरु ? आँशु, पसिना र रगत सिञ्चेर साँचेको सपना यदि यही यौटा 'जिन्दगी' हो भने, आउ मेरा प्रिय अनुजहरु, सँगै बसेर 'जिन्दगि'लाई फेरि पुनर्परिभाषित गरौं ।
पढेर संसार जित्ने सपना बोकेर स्कुल आएको अबोध बच्चालाई आफ्नै गुरुले 'तँ पढेर खाँदैनस्, बरु हलो जोत्न जा' भनेर पढ्न निरुत्साहित गरेको मेरो आफ्नै आँखाले देखेको छ । यसरी उत्प्रेरणा र हौसला हरण भएको बाल मष्तिष्कले कस्तो 'स्वाभिमान' सिक्ला र कस्तो 'संस्कार' गुरुदक्षिणा स्वरुप चढाउला ? यहाँ सवाल पढ्ने, नपढ्ने वा हलो जोत्ने सँग भन्दा पनि स्वाभिमानी सोच के हुने र यसको दायरा कति हुने भन्ने हो । मैले पढाउँदा बिद्यार्थीहरु सँगको अन्तरक्रियामा कृषक अभिभावकका छोराछोरी बिद्यार्थीहरुलाई 'तिमी भविष्यमा के पेशा गर्न चाहन्छौ ?' भनेर सोध्दा कसैले पनि 'म कृषि पेशा अँगाल्छु' भनेनन् । बरु धेरैले बिदेश गएर पैसा कमाउने कुरा गरे । र, यी उत्तरहरु हाम्रै शैक्षिक, सामाजिक र राजनैतिक यथार्थको प्रतिबिम्ब हो भन्ने मेरो अन्तर मनको बुझाई हो ।
खाडी मुलुकको बालुवा चालेर कमाएको सुन भन्दा हाम्रै बारिमा फलाएको गोलभेंडा बेचेर कमाएको नुन बढी सन्तुष्टी दिने खालको हुन सक्दैन र ? ब्यवहारिक रुपमै यसरी सोचे के होला त ?
म सामाजिक बिग्यानका हरेक सवालहरुमा 'राम्रो' वा 'नराम्रो' भनेर निशाफ दिन सक्दिन तर त्यसका सम्भावित मार्गचित्र बारे केवल आफ्नो राय प्रकट गर्न सक्छु ।
मेरा दाइ भाइहरु, हामिले गाउँका केहि बुज्रुक देखी देशका ठल्ठुला नेतासम्मका अनेकन भाषण सुन्यौं तर, एकचोटी पनि आँखा बन्द गरेर आफ्नै मुटुको धड्कन सुनेनौं । हाम्रा ठुलोबा, बा, काकाले भनेका कुरामा रिसायौं । उनिहरुलाई न त सुन्यौं, न त सम्झायौं नै ! आकाशका सबै तारा गनेर सकिने दिन र हामिले चाहेको जति पैसा कमाउने दिन सायद कहिल्यै आउदैन भन्ने थाहा छ । फेरी पनि, स्वाँस्वाँ र फ्वाँफ्वाँ त्यसैका लागी छ, कस्तो बिडम्बना !
सानोमा गोठालो जाँदा हामिले राम्चे आँपको रुखमा बसेर अनि साउनेको बरको हाँगामा सोईसाला खेल्दै गित गाउँथ्यौं- "गान्टे मुला मै ठुलो हँला, ठुलो भई बाउ आमा पालुँला" । राम्चे आँप त मरिसक्यो, साउनेको बरको बोटलाई के जवाफ दिने ? कि हामी उतै बसेर बरको बोट पनि 'मरिहालोस्' भन्ने !
हामिले गाँउमै बसेर एकपल्ट फरक सोचौं र फरक गरेर हेरौं न । बाँझा बारिहरुमा गोरुको सट्टा ट्याक्टरले जोतेर हेरौं, कोदो रोप्नुको सट्टा काउली रोपेर हेरौं । गहुँ रोप्ने ठाउँमा गोलभेंडा रोपेर हेरौं । गाई फरक किसिमका पालेर हेरौं, बाख्रा फरक किसिमले पालेर हेरौं । भएनछ भने पनि कुनै हाकिमले ओैंलो त ठड्याउँदैन नि । डराई डराई उसलाई जवाफ त दिनु पर्दैन नि । आफ्नै "स्बाभिमानी सिकाई" हुनेछ त्यो ।
म घरबाट रित्तै हात निस्केको थिएँ, र झन्डै दश बर्ष पछी रित्तै हात फर्किएँ, यही "स्वाभिमान" बुद्दत्व को रुपमा साथमा लिएर ।
कतै पढेको थिएँ- "यदि लड्न सुरु गर्यौ त आधा जितिसक्यौ, यदि लड्न सुरु गरेनौ त आधा हारिसक्यौ "
मेरो लडाईं सुरु भयो । यी 'हात' सदैव स्वाभिमानी 'साथ'को पर्खाईमा रहनेछ ।

Tuesday, April 12, 2016

बालबालिकाहरुको कुण्ठित शैक्षिक अधिकार

खासमा यो वर्ष पढाई भएकै छैन। वर्षको शुरुमै २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आयो।
भूकम्पको खासै असर नपरेको तराईमा पनि वैशाख र जेठ पनि धेरैजसो विदै भयो।
असार एक महिना पढाई भएको थियो, साउनमा वर्षे विदा भयो; भदौ, असोज, कात्तिक महिना मोर्चाको आन्दोलनका कारण स्कूलहरु पुरै बन्द।
यहि मंसिरमा त हो पढाई शुरु भएको।

बिहानी कक्षा
बल्लतल्ल आन्दोलनकारीले स्कूल चलाउन दिने भन्ने निर्णय गरे। महिनौंपछि बल्लतल्ल खुलेको स्कूल, यो शीत लहरको बेला, बिहानीपख ।
बिहानको ७ बजे कक्षा सुरु भएको घण्टी बज्छ ।
रामसिकिल दाइ घण्टी बजाउन बिरलै सम्झनुहुन्छ। हरेक घण्टी प्रायः कसै न कसैले सम्झाईरहनुपर्छ।
पहिलो घण्टी बज्यो मैले कक्षा दशमा अनिवार्य गणित पढाउनुछ, विद्यार्थी १५ जना जति मात्र आइपुगेका छन्।
यो वर्ष यो विद्यालयबाट नियमिततर्फ ८९ जनाले एस.एल.सीको परिक्षा दिन फाराम भरेका छन् ।

सोच शून्य
म जिल्ल पर्छु, आएका विद्यार्थीलाई पढाउने कि नआएकालाई पर्खिने? आँखाहरु विद्यार्थी आउने बाटोतिर पुग्छन्।शीतलहरका समयमा नाङ्गो खुट्टामा आधा बाहुले सर्ट लगाएर आएका, जाडोले लुगलुग कामिरहेका अबोध बालबालिकाहरु। संख्या पनि निकै कम भएको छ हिजोआज।
कडा शीतलहरबीच डम्म हुस्सु छ। म सोच शून्य हुन पुग्छु ।
एक्कासी ढोकामा माधवी आएर सोध्छिन् -"दाइ म हजुरको क्लास ‘अब्जर्ब’ गरौं?"
उनको कक्षा ९ मा पहिलो घण्टी अङ्ग्रेजी हो ।
"के भयो र तपाईंको क्लास ?" मैले प्रतिप्रश्न गरेँ । "मेरोमा कोही पनि विद्यार्थी आएका छैनन्।" उनले बिस्मयसाथ भनिन्।
"बस्नुस् न त्यसो भए" मैले "चक्रीय ब्याज" पढाउन सुरु गरेँ ।
विद्यार्थी आउने क्रम जारी रहिरह्यो। "माइ कमिन सर?"...........माइ कमिन सर ?......." मानौं, यो पहिलो घण्टी उनिहरुको स्वागतका लागि हो।
निरन्तरको विद्यार्थी आउने क्रमले मेरो कक्षा अवरोधपूर्ण भइरह्यो।
उनका विद्यार्थी आउन थालेको देखेर माधवी उठेर गइन् ।
नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार भनेझैं भएको छ ।

आदर्शको भाषण
बनाएको पाठ योजना पुरा नहुने देखेपछि, पढाउन रोकेर एकछिन आदर्शका भाषण छाटेँ। एस.एल.सीको महत्त्व भट्याएँ। विद्यार्थीको अल्छिपना प्रति गुनासो गरेँ। भोलिदेखि घण्टी लाग्दा नआइपुग्ने विद्यार्थीले कक्षामा पस्न पाउनेछैन भनेर चेतावनी पनि दिएँ ।
यसो उसो गरेर पहिलो घण्टी १० कक्षामा र दोस्रो घण्टी कक्षा ९ मा सकियो । तेस्रो घण्टी खाली थियो । मनमा चैन थिएन ।
अफिसबाट बाहिर हेरेँ, प्राथमिक कक्षाहरु -छानो मात्र भएका टहरा छन्। न कक्षा छुट्याउने पर्खाल छ, न डेस्क बेन्च, न कालोपाटी ।
विद्यार्थीहरु आफैंले बोकेर आएका बोरा ओछ्याएर चिसो सिमेन्टमा बसेका छन् ।
जस्तै कठोर हृदय पनि पग्लिने दर्दनाक अवस्था छ: शीतलहरका समयमा नाङ्गो खुट्टामा आधा बाहुले सर्ट लगाएर आएका, जाडोले लुगलुग कामिरहेका अबोध बालबालिकाहरु। संख्या पनि निकै कम भएको छ हिजोआज।

दूरगामी प्रभाव
मधेस आन्दोलन जारी छ । पहिले विद्यार्थीहरु "प्रणाम सर" भन्थे हिजोआज धेरैले "जय मधेस सर" भन्छन् ।
आन्दोलनको निष्कर्ष के हुन्छ मलाई थाहा छैन तर हरेक तह र तप्कामा यसको दूरगामी प्रभाव रहिरहनेछ भन्ठान्छु।
आन्दोलनकै कारण बिहानी कक्षा चलाउनुपर्दाको मर्म भोग्नेलाई मात्र थाहा छ। अरुले बुझ्न र अरुलाई बुझाउन कठिन छ।
चौथो घण्टी कक्षा ८ मा पढाएँ र सिधै लागेँ कक्षा ६ मा। नियमित घण्टी हुँदा अफिस नगई सिधै कक्षा जाने मेरो बानी आफु कक्षा ११ पढ्दा आफैंले पढेको स्कुलमा केही समय पढाउँदा देखिकै हो।
"सर केबारी(ढोका) बन्द गर, जाडो लागिरहेछ", एउटा विद्यार्थीले भन्यो। मैले "तिमी" भनेको सुनेर उनिहरुले मलाई "तिमी" नै भन्न जाने । आजकल म "तपाईं" भन्छु, उनिहरु पनि सिक्दै छन् ।सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यवहार पनि हो
मैथिली मात्रै जान्ने यी केटाकेटी भेटेपछि म आफूलाई "उत्कृष्ट" सम्झने तन्नेरी "केही नजान्ने" भएर शू मा झरेको थिएँ । हुल अगाडि उभिएर कसैलाई केही बुझाउन नसकेपछि आफैँलाई केहि पनि नजान्ने महशुस हुने नै भयो।

दोहोरो सिकाई
सिकाई दोहोरो छ। मसँग गणित अँग्रेजी सिक्ने उनीहरुसँग मैथिली सिक्दै गरेको पहाडे ठिटो म।
मैले ढोका बन्द गरेँ, उसले आफैंले खिड्की (झ्याल) बन्द गर्‍यो । अब अन्धकार.... , कसरी पढ्ने? फकाई फुलाई गरेर त्यो कक्षा पनि पढाएँ ।
निस्केर कक्षा ७ मा जाँदै थिएँ, एउटा विद्यार्थीले दौड्दै आएर सोध्यो - "म घर जान्छु सर, पेट दुखिसक्यो भोकले"। उ पेट मिचिरहेको थियो ।
म आँफै भोकले चुर थिएँ, विद्यार्थी भए म भागिदिन्थेँ ।
पदीय मर्यादा पालना गर्दा सुन्दर प्राकृतिक भावना कसरी गुमाउनु पर्दो रहेछ। मैले आफ्नै भोक देखाएर उसलाई सम्झाएँ। उ आज्ञाकारी बन्यो।

असन्तुष्टि
एउटा माध्यमिक विद्यालयको सञ्चालन शैली हेर्दा लाग्छ - यसरी त खहरे खोलाबाट टिपेर ल्याएको गुहे ढुङ्गाको मूर्तिले पनि चलाईदिन्छ।
यस्तो अपमानजनक शब्द प्रयोग कल्पनामा बगेको शब्द लहरी होइन ।
यसमा गहिरो सोच र विवेकपूर्ण विश्लेषण मात्र होइन म स्वयंको लगावयुक्त अनुभव पनि छ ।
विद्यालय सञ्चालित हुने प्रशासनको ढाँचामा भएको यावत विषयबस्तु बारे म बहस गर्न तयार छु ।
हो, म आजित भैसकेँ तर हार्न जान्ने प्रा‍णी म हुँदैहोइन ।

संघर्ष
इमान्दारिता माथिको बर्बर अन्याय मेरो संघर्षको मुख्य निशाना हो। म कुनै हालतमा पनि छोड्दिन ।
म बिहान ११:३० सम्म स्कूलमै हुन्छु र दिउँसोको ३:०० बजे फेरि स्कूल मै पुग्छु, नि:शुल्क थप कक्षा पढाउन, परिक्षाको लागि तयारी गराउनुपर्नेछ ।
खाना र आरामभन्दा बढी मलाई कर्तव्यप्रतिको प्रेम छ।
म यो प्रमाणित गर्न चाहन्छु "सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यवहार पनि हो।"
मलाई थाहा छ, मेरै आँखा अगाडि अफिस कोठामा कति निर्दोष विद्यार्थीको हात र जिउमा बज्रेर भाँचिएका बलिया लाठीहरु कहिल्यै जोडिने छैनन्, न त उनीहरुको मन नै।
पीडाले बर्-बर् झरेका विद्यार्थीको आँशु फर्केर आउने छैनन्, न पिट्ने शिक्षक प्रति उसले कहिल्यै श्रद्धा गर्नेछ।
धेरैलाई थाहै छैन, धेरैले देखेकै छैनन्: रमाइलो र प्रेमिल बुझाई र सिकाइको छुट्टै बाटो पनि छ ।
मनमा अनेक कुरा खेलिरहँदा विभिन्न रिस, गाली र आवेगहरु आ-आफ्ना आकृति लिएर अगाडि आउँछन्, म सँग बोल्छन्, हाँस्छन् अनि फेरि म मुस्कुराउँछु ।पहाडमा पढाउन आएका तराईका सरहरुबाट दीक्षित म तराई झरेर मैथिलीभाषी यि बालबालिकालाई दिक्षा हस्तातन्तरण गर्दैछु
पहाडमा पढाउन आएका तराईका सरहरुबाट दीक्षित म तराई झरेर मैथिलीभाषी यी बालबालिकालाई दिक्षा हस्तातन्तरण गर्दैछु।

कुण्ठित अधिकार
यति ठूलो अधिकारको लडाईं चलिरहँदा यी मसिना बालबालिकाहरुको अधिकारको पक्षमा बहस कसले गर्छ ? सुनुवाइ कसले गर्छ ?
यदि हामी सार्थक र समुन्नत समाजको परिकल्पना गर्दैछौं भने, यहि समाजको अकाट्य हिस्सा यी बालबालिकाहरु किन सदैव कुण्ठित भइरहनुपर्छ ?
म सपना देखेर हिँड्छु भलै कहीँ नपुगुँ, म सत्यता टेकेर हिँड्छु, भलै सफलता नभेटुँ ।

के म शिक्षक हुँ ??

चन्द्रागिरि डाँडोमा आईपुगेपछी पृथ्वीनारायण शाहलाई देखाईएको थियो रे - 'उ त्यो काठमाण्डौं हो, त्यो भादगाउँ हो र त्यो पाटन हो..... '
मलाई पनि यो गाउँमा पाईला टेक्ने बित्तिकै त्यसैगरि देखाईएको थियो - 'उ त्यो तिमिले पढाउने स्कुल हो, त्यो विद्यार्थी हो र त्यो तिमि बस्ने घर हो ।'
उनी पो 'पृथ्वीनारायण' थिए, काठमाण्डौं, भादगाउँ र पाटन देखेर 'तिन वटै शहरको राजा बन्न पाए' भन्ठाने रे, म त 'नारायण' मात्रै न परेँ; पढाउने स्कुल, बिद्यार्थी र बस्नुपर्ने घर देखेर निक्कैबेर किंकर्तब्यविमुढ भएको थिएँ ।
हो, म सामान्य स्यंसेवी शिक्षक, एक बर्षको लागि आएको ।
जिवन शुन्यबाट सुरु हुन्छ र शुन्यतामै विलिन हुन्छ । यि दुई शुन्यताहरुको बिचमा यो पुर्णताको खोजि बिचित्र र चाखलाग्दो छ । सायद त्यहि पुर्णता प्राप्तिको प्यासले मलाई एउटा बिछट्टै मधेसि गाउँको माझमा उभ्याइदियो, धनुषाको कटरैत गाउँमा ।
आज म निश्चिन्त छु, कि यो एक बर्षे योगदान धेरै केटाकेटीहरुको आँखाको सपनाको साक्षी मात्र होइन, सफलता प्राप्तिमा सहयोगि बन्दैछ ।
म कहिल्यै तराई नबसेको पहाडको ठिटो, त्यसैले होला मेरो लागि यहाँको एक-एक पल सम्झन लायक भए । कसैले मधेसमा बसेर के गारिस् भन्यो भने म भन्छु- "मैले केहि गरिन, मात्रै यो बर्षैां देखि नियतबश थुप्रिएको फोहोर कोट्याईदिएँ, यो शैक्षिक र सामाजिक झ्याउ र लेउ लागेको पोखरिमा झ्वाम्मै हामफालेर तरङि्गत गराइदिएँ ।" अघिल्लो दुई बर्षको अनुभवले मलाई सरकारी स्कुलमा हुने कतिपय स्वार्थगत र मनोगत प्रबृत्ति धेरै नजिक बाट बुझाउने प्रयत्न गरेको थियो ।
हरेक वर्ष स्कुलमा कुनै नयाँ शिक्षकको प्रबेश र कोहि शिक्षकको बहिर्गमन प्राय भएकै हुन्छ, जसबाट प्रत्येक वर्ष कक्षा र घण्टी बिभाजनको समयतालिका नयाँ बनाउनु पर्छ । त्यहि काम नियमित र सहज कक्षा सञ्चालन नहुने बलियो बाहाना बन्छ । झण्डै एक महिना सम्म समय त्यसै झुलाईन्छ । त्यो तितो यथार्थको अभ्यास यो स्कुलमा पनि हुन लागेपछि म आफैंले एकै दिनमा समयतालिका बनाईदिएँ । हर पाईलामा साथ दिने अभियान्ताहरुको बलियो टिम पाउनु पनि मेरो अहोभाग्य हो । अनुभव र भैपरि आउने परिस्थिति दुबैले अघि बढ्न पाठ सिकाउँदो रहेछ ।
झण्डै आठ सय बिद्यार्थी रहेको स्कुलमा फोहोरको कारणले शौचालय प्रयोग गर्न त के नजिकै जान र हेर्न पनि नसकिने थियो । पढाउन सुरु गर्दै थिएँ, यौटा बिद्यार्थीले हातका पाँच औंला देखाउँदै भन्यो-
"सर पाँच मिनेट..."
'के पाँच मिनेट ?'
फेरि त्यहि भन्छ- 'पाँच मिनेट सर' ।
'किन?'
बल्ल अरुले बुझाईदिए, 'पाँच मिनेटको अर्थ पिसाब फेर्न जानु र दस मिनेटको अर्थ दिसा गर्न जानु' यि दुबै कामको लागि पर खेतमा जानुपर्ने ।
कोहि कल्पना गर्छ कि, एउटा शिक्षक हर्पिक बोकेर स्कुल जान्छ र घिनाईरहेका विद्यार्थिको अगाडी लागेर चरम दुर्गन्धित चर्पिमा हात हाल्छ ? चर्पिमा कोच्चिएको कागज, ईंटा, प्लाष्टिक आदि झिकेर प्रयोग योग्य बनाउँछ ?
सकरात्मक परिबर्तनको बाटो पक्कै अप्ठेरो हुन्छ, तर सुरुवात गर्यो भने साथ दिनेहरु प्रशस्तै हुने रहेछन्, धेरै बिद्यार्थीहरुले साथ दिए । त्यसैको दबाबले होला, शौचालयको छेउमा ट्युबवेल बन्यो । साना, मध्यम र ठुला केटाकेटीहरका लागि शौचालय सम्म पानि लैजान क्षमता अनुसारका तिन ओटा बाल्टीहरु पनि आए । अब खुसिको सिमा रहेन ।
चर्पि सफा भयो । दुइ घण्टी पछि दश मिनेटको ब्रेक राखियो, अब आपतकालिन बाहेक पढाई चलिरहँदा कोहि पनि बाहिर जानु परेन ।
कक्षाकोठाको अभावले बिद्यार्थीहरु चौरमा बसेर पढ्न घाम र पानिका कारणले प्रतिकुल हुन थालेपछि कोठा निर्माणको लागि बिद्यार्थीको साथ लिएर गोबर माटोले पोत्न थालें । कोहि बिद्यार्थीले सोच्दैनथे कि कुनै शिक्षक स्कुलको कक्षाकोठा पोत्छ ! सबै केटाकेटीले खुसि भएर साथ दिए, एकै क्षणमा कक्षाकोठा तयार भयो ।
सम्झँदा पनि अफसोच हुने सुरुका दिनको यौटा घटना छ ।
खाजाको रुपमा रामसिकिल दाइले चना पकाउनु भयो । भुँइभरी मिल्काइएको थुप्रै किताब कापिहरु मध्ये यौटा च्यातेर सबै स्टाफलाई त्यहि कापिको पानामा खाजा बाँड्नु भयो । मेरो ध्यान खाजामा भन्दा यति सुन्दर अक्षर लेख्ने बिद्यार्थी को होला भन्नेमा गइरह्यो । तैपनि नयाँ ज्वाँई जस्तै भलाद्मी भएर चुपचाप खाजा खाईदिएँ । अर्को दिन उसैगरी उही खाजा पाक्यो, भुँईबाट यौटा किताब तानेर च्यात्दै सबैलाई बाँड्न थालियो । भुँईमा किताब वा कापि खसेमा टक्टक्याउँदै ढोगेर राख्ने म, आफ्नै आँखा अगाडी ध्यार्-ध्यार् किताब च्यातिंदा टुलुटुलु हेरिरहन सकिन, मैले आपत्ती जनाएँ । भोलिपल्टै केहि थान प्लेटहरु किनेर ल्याईएछ ।
मैले भुँईभरि छरिएका किताबहरु बिषयगत र कक्षागत हिसाबले एक ठाउँमा मिलाएर राखें ।
किताबहरु मिलाएर राख्दा, खाने प्लेट र बस्ने कुर्सि किनाउँदा, धुलैधुलो लागेर बेवारिसे पारिएका शिल्डहरु पुछेर मिलाएर सजाउँदा; चर्पि, स्कुल हाता र कक्षाकोठा सफा गर्दा, अनुदानमा आएर त्यसै थन्किएको कम्प्युटर प्रयोग गराउँदा, प्रार्थना सभा बिद्यार्थीहरु बाटै सञ्चालन गराउँदा सकारात्मक परिवर्तन प्रतिको बिश्वास बढ्दै गयो । यी साना-साना कामको सफलताले अन्य कामहरु जस्तै: बाल क्लबको गठन, भित्ते पत्रिकाको सुरुवात, बिद्यार्थीहरुलाई बिभिन्न सदनमा बिभाजन, प्रतिस्पर्धात्मक बिबिध अतिरिक्त क्रियाकलाप लगायत अभिभाबक भेला आदिको लागि योजना र कार्यान्वयनको ढोका खोलिदियो ।
"लगातार पर्ने पानिले ढुङ्गालाई पनि खियाउँछ" भनेर सेक्सपियरले उसै भनेका होईन रहेछन् ।
यौटा कुनै बिद्यार्थी शिशु कक्षादेखी कक्षा १० सम्म पढिसक्दा झण्डै ११ बर्ष स्कुल आउँछ, शिक्षक सँग समय बिताउँछ । तर, त्यही बिद्यार्थीले सो अबधिमा कुनै पनि दिन कोहि पनि शिक्षक आफ्नो घरमा आएको देख्न नपाउनु कति बिडम्बनापुर्ण छ ! गुरु शिष्य बिच हुने पबित्र दोहोरो सम्बन्धको आदिम इतिहास आज धुमिल हुँदै गएको देख्छु म । यौटा १० कक्षाको बिद्यार्थिको घरमा जाँदा उसले मलाई भन्यो-"आज सम्म हाम्रो घरमा कोहि पनि सर आएको छैन, तपाईं हाम्रो लागि भगवान जस्तै हो...."
उ यति भावबिभोर थियो कि यस्तो लाग्थ्यो; उसको लामो तपस्यामा प्रसन्न भएर 'तथास्तु' भन्न म त्यहाँ पुगेको हुँ ।
म त भगवान थिईन, मात्रै फिस्स हाँसिदिएँ ।
एक दिन कक्षामा सबैलाई सोधें -'काठमाण्डौंमा को-को गएको छ'? कसैको हात उठेन ।
उनिहरु सोध्छन्- 'सर, पहाड कस्तो हुन्छ ?' म फोटो देखाउँदै थोरै बर्णन गर्छु, उनिहरु आश्चर्यचकित भएर अनन्त कल्पनामा डुब्छन् ।
म खोज्दै छु, यहाँ कहाँनेर खोट छ ? यो देशको भुगोलमा वा शैक्षिक, सामाजिक, राजनैतिक प्रणालिमा ?
नत्र यौटा नेपालिलाई पहाड देख्न वा यौटा नेपालिलाई तराई देख्न मङ्गल ग्रहमा पुग्ग जत्तिकै गार्हो पर्छ त?
मलाई चिन्नेहरु सबै शिक्षककै रुपमा बुझ्छन् तर झण्डै तिन बर्षको निरन्तर शिक्षण अभ्यासमा लागिरहँदा पनि हृदयले मलाई आफु शिक्षक हुँ जस्तो कहिल्यै लागेन । म बिद्यार्थीहरुसँगै फुटबल खेल्छु, भलिबल खेल्छु, फिल्म हेर्न फिल्महल जान्छु, उनिहरुकै साईकलको पछाडी सिटमा बस्छु, उनिहरुले खाईरहेको खाजा खान्छु, सँगै हाटमा किनमेल गर्न जान्छु, बिदाको दिन खोलाको तिरमा सँगै भैंसि चराउन जान्छु, सञ्चो-बिसञ्चो ख्याल गर्छु अनि बिरामि हुँदा जचाउन लगेर औषधि खुवाउँछु । जिवनको हर पक्षलाई पढाई बनाईदिन्छु, हर चिजलाई किताब बनाईदिन्छु । रुखको हाँगा देखाएर बिभिन्न कोणहरु सिकाईदिन्छु, बाटो र खोलाको किनारा देखाएर बिभिन्न रेखाहरु देखाईदिन्छु, भैंसिले आल खेल्ने बृत्ताकार पोखरि र बिचमा गाडेको खम्बा देखाएर बृतको बिशेषता बताईदिन्छु, कापि र पेन्सिलको ब्यापार गर्न लगाएर नाफा र नोक्सान पढाईदिन्छु, कक्षाकोठा र चौर नापेर क्षेत्रफल निकाल्न लगाउँछु, दौडाएर ल.स. बुझाईदिन्छु त उभ्याएर बर्गसंख्या र घनसंख्या चिनाईदिन्छु ।
के म शिक्षक हुँ ??
हेराई र बुझाईले धेरै कुरालाई फरक पारिदिन्छ । यहाँ हर भोगाईमा किताब छ, हर पाईलामा पढाई छ । त्यो खोज्न र महसुस गर्न उत्प्रेरित गर्ने बिशाल मनहरुको खाँचो छ ।
यौटा ब्यग्रता लिएर मधेस आन्दोलन छिचोल्दै यहाँ आउँदा म बसेको घरकी असहाय अपाङ्ग बृद्द आमैले देख्नेबित्तिकै बडो खुसि भएर आफ्नै भाषामा भन्नुभयो- "आज मेरो घर उज्यालो भयो ।" मैले उहाँको आँखामा हेरें; धपक्क, चम्किलो, तेल थपेको दियोको बत्ति जस्तै थियो त्यो आँखा । म घर जाँदा मेरि आमाको आँखा यस्तै हुन्थ्यो । नजिकै गएर बसें, उहाँले मेरो हात समातेर धेरे कुरा गर्नु भयो । मैले सबै बुझिन । यत्ति बुझें- यौटा मसिनो आशाको त्यान्द्रोले पनि जिवनलाई निश्चत धारमा सम्हालिराख्छ ।
यौटा जलेको चिम समेत फेर्न नसकेर मधुरो टुकि बालिरहनु भएको रहेछ बृद्द आमैले । नयाँ चिम फेरिदिएपछि बलेको बत्तिको उज्यालोमा उहाँलाई हेरें, मलाई यति खुसि र सन्तुष्टि प्राप्त भयो, त्यो प्राप्ति यो संसारको सबै धन, शक्ति र पद एकै ठाउँमा मिलाए भन्दा धेरै बढी थियो ।
कसलाई सोधौं म; यो दुख किन यति धेरै गह्रौं ? सुख किन यति हलुका ?
उहाँको लागि एक बाल्टि पानि लगिदिँदा, चार पाईला डोर्याईदिंदा, मौरिले अनुहारभरि टोकेर गाडेको खिल झिकेर आौषधि ख्वाईरहँदा म जिवनको सार भेट्छु ।
जरुरि छैन यो गर्न, तर मलाई लाग्छ प्रेमको बदलामा पाईने अनन्त प्रेमरस नै शाश्वत जिवनको प्राप्ति हो ।
मधेस आफ्नो अधिकारको लागि लामो समय देखि अझै आन्दोलित छ, जिवन यापन अत्यन्तै कष्टपुर्ण छ, म सबै कुरा नजिकै बाट देख्दै र भोग्दै छु । कतिपय साथी र आफन्तले सोध्छन् -
'कहाँ के गर्दैछस् ?'
"धनुषाको यौटा स्कुलमा पढाउँछु"
'स्थाई हो?'
"नाई, होईन ।"
'कहिले सम्मको लागि त?'
"यहि बर्ष मात्रै ।"
'अनि त्यसपछि ?'
"केहि गरौंला नि...."
'यस्तो आन्दोलनको बेला, असुरक्षित ठाउँमा, भो अहिल्यै छोडिदे, जाबो जागिरै त हो..'
म सँग शब्दले दिने जवाफ छैन, किनकि जिवनको अर्थ हरेकको आफ्नै बुझाईमा हुन्छ । त्यो बुझाई मन बाट आउनु पर्छ, शब्दको कहाँ मन् हुन्छ र ? ठुलो हार्दिकता निकाल्न ठुलै हृदय चाहिन्छ । उहि समयको अन्तरालमा यहाँ दौडेर 'सय बिन्दु'मा जो पहिले पुग्छ, उसैलाई 'बिजयी' घोषणा गरिन्छ चाहे उ दौड रेखाको ५० वा ६० औं बिन्दु बाट दौडन सुरु गरेको किन नहोस् । धेरैको नजरमा म 'बिजयी' छैन किनकि मेरो यात्राले 'सय बिन्दु' छोएको छैन, उनिहरुलाई के थाहा कि, म माईनस सय देखि आईरहेछु यो शुन्य बिन्दुमा ।
न मलाई कुनै प्रतिस्पर्धाको लालसा छ, न त आफ्नो कर्म प्रतिको निराशा नै ।
आज मलाई कसैले खुसि बनाइरहनु पर्दैन, त्यसका लागि आफ्नै कर्म काफी छ । म सँग मिठो निन्द्रा छ । आफैंमा मात्र सिमित सत्य, अरुको नजरबाट पनि सोच्न र खोज्न सिक्दै छु । म जे हुँ र जे गर्दैछु त्यस प्रति गर्ब गर्न सक्ने भएको छु ।
अनिश्चित भविष्यको हरेक पक्षमा पनि प्रेमको बदलामा प्रेमकै प्राप्तिको निश्चितता देख्छु म । मैले आफ्नो जिवनमा सय भन्दा बढी पढाउने शिक्षक पाएँ र सम्झँदै हातका औंलामा गन्न थालें । एउटा हातका औंला पनि बढी भयो, एक दुई जना बाहेक गनिनै मानेनन् । किन??? किनकि उनिहरुले आफ्नो घण्टिको ४५ मिनेट मात्रै बिद्यार्थीहरुलाई मष्तिष्कमा राखे । हातको औंलामा गनिन २४ सै घण्टा शिक्षकको मष्तिष्कमा बिद्यार्थी हुनुपर्छ ।
धेरै गुनासो सुन्छु शिक्षकहरुको - "बिद्यार्थीहरुले सिकेनन्" । मेरो सोधनि बिसौं बर्ष बिद्यार्थीहरुलाई पढाउँदा 'के सिक्नुभयो' भन्ने हो । र, धेरै सँग यसको जवाफ छैन ।
मान्छेहरुमा 'आफ्नो कमजोरी ढाक्न अरुलाई दोष दिने र अरुको मेहनतको जस सकेसम्म आफैं लिन खोज्ने मनोगत प्रबृत्ति' हुँदो रहेछ । शिक्षकहरु पनि यसबाट टाढा हुन सकेका छैनन् ।
हामिले सोचेको स्वप्निल समाज निर्माणको लागि पनि सकरात्मक सोच र जागरुक मन भएकाहरु अब अघि बढ्नुपर्छ । यदि एउटाले फोहोर कोट्याउने चेष्टा गर्यो भने सोहोर्न अरु धेरैले साथ दिनेछन् । यदि आँखा बन्द गरेर बसिरहने हो भने आउनेवाला समाज पुरै अन्धो भएर जाने कुरामा दुई मत छैन ।

जे.डब्ल्यु. डासन् भन्छन्- 'असल काम गरिेएन भने अन्तत: पुग्ने ठाउँ खराब नै हुन्छ' ।

फेलोसिप फ्ल्यासब्याक

उज्यालो पछि अँध्यारो र अँध्यारो पछि उज्यालो सधैं भइरह्यो तर यो एकैनासको कहिल्यै भएन ।
हरेक दिन फरक भएर बित्यो यो वर्ष पनि ।
असिम अनुभुतिहरु सँगालेर काठमाडौं फर्कने दिनसम्म जनकपुर वरवरका आँपका बगैंचाहरुमा लटरम्म चिचिलाहरु लागेका देखिन्थे ।
मानिसका आ-आफ्नै रफ्तार हेर्दा यस्तो लाग्थ्यो कि मनभित्र सबैका सपनाका चिचिलाहरु यसैगरि भर्भराईरहेछन् ।
उखरमाउलो गर्मिको के कुरा गर्नु, सम्झँदैमा पसिना छुट्छ ।
एक बर्षे जनकपुर यात्रा जिवनरेखाबाट हटाईदिने हो भने मेरो सारा जिन्दगी साँच्चिकै बेकारको हुनेछ ।
लक्ष्मीप्रसाद लाई आफ्नो साहित्य यात्रामा 'मुनामदन' जसरि प्रिय बन्यो उस्तै भयो मेरो जिवन यात्रामा धनुषामा टिच फर नेपालको फेलोसिप पनि ।
अरुले मलाई पक्कै पनि 'पढाउने मान्छे' सोचे तर म धेरै कुराहरु 'पढ्ने मान्छे' भएर आएँ ।
अरुले मलाई 'सबैलाई माया गर्ने मान्छे' भन्ने बुझे तर म 'आफैंलाई धेरै माया गर्ने मान्छे" भएँ ।
कतिपयले मलाई 'अरुलाई बदल्न हिडेको मान्छे' ठाने तर म सम्पुर्ण रुपले आफैं बदलिएँ ।
हो, मैले आफ्नो फेलोसिपमा जिवनको स्वार्थ भेट्टाएँ, कर्मको अनुपम सन्तुष्टी भेट्टाएँ ।
कतिपयको मुखबाट यदाकदा सुन्छु :- 'मेरो लागि कुनै बाटो छैन....'
"सबैको लागि बाटो पहिलेनै बनिसकेको छ, आँखा खोलेर हेर्ने मात्र आफ्नो काम हो" । आँखै बन्द गरेर कहाँ बाटो देखिन्छ त ?
ज्ञान, विवेक र बिश्वास जति बढायो, उति नै बाटोहरु देख्ने आँखाहरु चम्किला हुने रहेछन् ।
एस.एल.सि. परिक्षा सुरु हुन एक महिना पनि बाँकि नहुँदा परिक्षा तयारी गरिरहेकी कक्षा १० मा अध्यायनरत छात्रा 'मनिताको' बिहे भयो । म निम्तो मान्न उनको घरमा जाँदा दुलही पहिरनमा सजिएकी उनले मेरो बडो स्वागत गरिन् । आफ्नै हातले खाना पस्केर दिइन् ।
म सोचमग्न भएँ । भोजका बिभिन्न परिकार लिएर मेरो अगाडी आइरहँदा मेरो आँखाले उनलाई होमवर्क देखाउन आईरहेकी एउटी मिहेनती बिद्यार्थी मात्रै देखिरह्यो ।
बेहुला बेहुलीको लागि सजाईएको कारमा चढ्नुअघि उनले आफ्नी मिल्ने साथीसँग एउटै थालमा भोज खाईन् । सायद उनिहरुले यो विवश बिछोडलाई साँस्कृतिक परम्पराको रुपमा सहज ठाने ।
मन चोर्ने हेतुले साथीचाहिँलाई मैले सोधें -"तिमि चाहिँ भोज कहिले खुवाउँछौ त?"
'म अहिल्यै भोज खुवाउँदिन सर' ।
'किन' ?
"किनकि मेरो सपना पूरा गर्नु छ" ।
'तिमि जुन अवस्थामा छौ, त्यसले तिम्रो सपना पूरा गर्न देला' ?
"तपाईले नै भन्नुभएको होईन, आफुमा विश्वास राख्नुपर्छ भनेर ? म मा पुर्ण विश्वास छ"
म झसङ्गै भएँ ।
भोलिपल्ट विद्यालय जाँदै गर्दा कोहि बच्चा रोईरहेको आवाजले मेरा पैतालाहरु टक्क अडिए । यसो हेरें साडिको सप्कोले टाउको सहित मुख छोपेर कोहि बिबाहिता भक्कानो छोडेर रुँदै थिइन् । 'के भएछ' भनेर बुझ्न खोज्दा कसैले बतायो- 'उसको लोग्नेले मदिराको मातमा बेस्सरि पिट्यो' ।
आँपका चिचिला जस्तै धेरै मनिताहरुका सपनाहरु बढ्नै नपाई सामाजिक हुरिले उडाइरहेको आभाष भयो मलाई ।
फर्केर हेर्दा ति अनेक आँखाहरुमा खेलिरहेका सुखद् भबिष्यका अभिलाषाहरु देखेर म भावविभोर हुन्छु ।
'तपाईबाट हामिले धेरै कुरा सिक्न पायौं, हामिलाई छोडेर नजानुस्, हाम्रो आँखाभरी आँशु हुन्छ' भन्ने निर्दोष मनका आवाजहरुले सायद मलाई आजिवन प्रेरणा दिईरहने छ ।
अप्ठ्यारोमा साजिलोको खोजि, अभाबमा अनेक प्राप्तिको खोजि, अहम् भाबमा सम्मानको खोजि भईरहने मृगतृण्णालाई सोचाई र बुझाईको परिबर्तित शैलिले काबुमा ल्याईदिएको छ आज ।
मेरो मन यति धेरै सजिब र यथार्थ कथाहरुले भरिएका छन्, र यसले मलाई यति धेरै बलियो बनाएको छ कि अब म जहाँ पुगेर जे पनि गर्न सक्छु ।
'काम' प्राय सबैले पाउँछन् तर 'आफ्नो महत्व अनुभुत गर्न पाईने काम' कमैले पाउँछन् । जीवनको सार्थकता आफैं भित्र हुँदो रहेछ भन्ने कुरा मलाई फेलोसिपले सिकायो ।





Saturday, February 13, 2016

बहुआयामिक प्रेम

पछिल्लो एक दशकमा म घर जाँदा र फर्कंदा तर्नुपर्ने त्रिशुलिको पुलमुनिबाट कति पानि बग्यो, मलाई थाहा छैन ।

मेरो घरअगाडी आँगनिको डीलमा कति चमेलिको फूल फूले र ओईलाए त्यो पनि मलाई यकिन छैन ।

सायद जिन्दगी सापेक्षतामा चल्छ क्यारे, त्यसैले सबै कुरा एकै पटकमा खुट्याउन सक्दिन म ।
परिवर्तित समयसँगको साक्षात्कारका हर सवाल जवाफहरु प्रकृतिको अनन्त लयमा बिलय भैसके होला तर म यौटा-यौटा बुँद टिपेर प्रेमिल स्वरुप दिने असफल प्रयास गर्दै छु आजसम्म पनि ।

बाल्य मन

मलाई 'आफ्नो' भन्ने छुट्टै 'चिज' हुन्छ अनि त्यसको माया लाग्छ भन्ने थाहा हुँदा गाई, गोरु र बाख्रा चराउन गाउँका साथी सङ्गीहरु संग गोठालो जान सक्ने भएको थिएँ । ऐंसेलु पाक्ने समयमा ओल्लो पल्लो गाउँबाट थुप्रै मानिसहरु त्यो ठुलो ऐंसेलुको झाँङमा जम्मा हुन्थे । पल्लो गाँउको दाइले अर्को गाउँकी दीदिलाई अञ्जुलिभरी ऐंसेलु टिपेर दिंदा मलाई किन नदिएको होला भनेर मेरो बालमन कति धेरै दुखीत हुन्थ्यो । म स्यानो फुच्चेलाई एक टोप्रो दिंदा के जान्थ्यो तिनको ? आखिर उनिहरुको पनि केहि नाता त थिएन नि.....
पुस माघको महिनातिर वनमा खासै घाँस हुँदैनथ्यो । सुकेका खरु गाई गोरुहरु चर्न रुचाउँदैनथे । एक आपसमा चाटाचाट गर्दै घाम तापेर दिन बिताउँथे । उनिहरु यति जोडले चाट्थे की शरीरका पुरै रौंहरु यताउता फर्केर कुरुप देखिन्थे । बाख्राहरु अलिअलि चर्थे । बनमाराका मुनाहरु खोजिखोजि खान्थे भने यसको फूल उफ्रीउफ्री मेसो मिलाएर खान्थे । साना साना पाठाहरु चर्दाचर्दै दौडिएर मेरो काखमा आएर फ्यात्तै लाडिएर बस्थे ।

सबैले आ-आफ्नो प्रेमका बान्किहरु देखाउँथे भलै मेरो मष्तिष्कमा सबै कुराहरु अटाईरहेको थिएन ।

विवाह खेल

अलिक उमेर ठुलो हुँदै जाँदाका दिनहरु झन् प्रात:स्मरणिय लाग्छन् ।
खेत र पाखातिर ढुङ्गा र काठका टुक्राको गाडी गुड्न मिल्ने बाटो बनाएर गाडी कुदाईन्थ्यो । ढुङ्गाको मुर्तीमा शृङ्गार भरेर त्यसलाई अनेक किंबदन्तिको पात्र बनाईन्थ्यो । एकपटक गाउँकै बालसखी सँग विवाह खेल हुँदै थियो । सब सामाग्रि माटो र सालको पातबाट तुल्याईएका थिए । विवाह मण्डपमा भब्य विवाह चल्दै थियो । एक जना गाउँको ठुलो मान्छे त्यहाँ आईपुगेर हामि केटाकेटीहारुलाई गिज्याउन थाले । भागाभाग चल्यो । दुलाहा, दुलही, पुरेत, जन्ति, जग्य सब तितर बितर ।

सम्झँदैमा काउकुति लाग्ने मेरो अञ्जान बालसुलभको पखेटा कति छिट्ठै पलाए, थाहै भएन ।

किशोरावस्था

किशोराबस्थाको प्रबेशद्वारबाट नियाल्दा 'समाजको बर्गिय स्वरुप' मलाई 'प्राकृतिक' लाग्थ्यो र त्यसैको मनोबैज्ञानिक असरले पनि होला म अन्तर्मुखी स्वभावको भएँ ।

किशोरावस्थासँग भरिदै आउने योवन र विपरित लिङ्गी प्रतिको स्वभाबिक आकर्षण बिभिन्न कारणले दमित हुन पुग्यो भन्ने लाग्छ मलाई । कुनै केटि दौंतरिसँग बोल्ने, नजिक हुने, जिस्कने जस्ता रहर मुलत दुई कुराले कुन्ठित भैरह्यो । एकातिर त्यसो गर्नु सामाजिक रितिरिवाज र परम्परामा लज्जास्पद हुनुमात्र नभई झण्डै-झण्डै पापपुर्ण नै हुन्थ्यो भने अर्कोतर्फ आफ्नै ब्यक्तिगत स्वभाव र छवि पनि 'भलाद्मि' किसिमको थियो । कुनै केटी सँग आफ्नो नाम जोडिनु भनेको ठुलो बेईज्जतिको कुरा थियो । कसैले 'फलानो' प्लस 'फलानि' भन्यो भने त "मरेसमान" होईन्छ जस्तो लाग्थ्यो ।

समयले यसरि बाँकटे हान्यो कि आज, 'फलानो' प्लस 'फलानि' हुन सकिएन भने "मरेसमान" भईने दिन आयो ।

अनुभुति

मैले जिवन यात्राका दौरान दुई किसिमका बाटोहरु हिडें । एकाथरिको बाटोमा मेरा पैतालाका डोबहरु देखिन्थे । अर्कोथरीमा ति डोबहरु देखिदैनथे । जहाँ डोबहरु देखिन्थे ति सबै अस्थायी हुन्थे र जहाँ देखिंदैनथे ति सबै अग्यात हुन्थे । म आफुलाई खोज्न अरुभित्र र अरुलाई खोज्न आफुभित्र पुग्थें । मलाई आफुले गरेको प्रेम र पाएको प्रेम दिग्भ्रमित लागिरह्यो जिन्दगिको क्यानभाषमा ।

कबित्व

प्रकृतिको काखमा भेटिने रङ्गिन गुलावहरुसँग कत्ति कुरा गर्थें, जुरेलि चराको जोडि हेरेर कत्ति टोलाउँथें, घामपानिको बिरलै संयोगमा बन्ने ईन्द्रेणी टपक्क टिपेर मायालुलाई घुम्टो ओडाउँदै गरेको कल्पेर कत्ति भाबुक हुन्थे, शितल हावाको झोक्कामा म कत्रो महल बनाउँथें, बेजोड नदिको प्रवाहको स्वच्छ स्पनदनमा म कत्ति पुलकित हुन्थें ।

साँच्चै यो अन्तस्करणबाट अङ्कुरित प्रेम कति धेरै रोमाञ्चकारी हुन्छ है ?
लामो कपाल, मिलेको जिउढाल, हँसिलो चेहरामा बैशको छुल्याहा पोख्ने सहेलि सम्झेर म खुब कबिता लेख्थेँ र तुरुन्तै च्यातिदिन्थें ।

पछि थाहा पाएँ- 'सोह्र बर्षको उमेरमा जो पनि कबि हुन्छ ।'  

आधुनिकता

स्कुले जिवनमा हठात् उठेका मनका उथलपुथलहरु मनमै सेलाए । अञ्जान प्रेमका रापहरुले मेरो मानसपटलको उद्देलनहरुलाई उजिल्याएर झन् चम्किलो बनाए । भौतिक आधुनिकता र बैचारिक उदारता फक्रे-फूलेको काठमाण्डौंको क्याम्पसमा पढ्ने अनि पढाईने शैलि, मेरो आफ्नो भोगाई, बुझाई र सोचाईको सामुन्ने अगम्य सगरमाथा जस्तै थियो ।

काठमाण्डौं शहर सिमेन्ट र बालुवाको जटिल रासायनिक मिश्रणबाट बनेको हुन्छ भन्ने अमिट छाप थियो म मा । कंक्रिट शहर भन्दा बढि कठोर मन त्यहाँका मान्छेहरुको छ भन्ने भुत आज पनि सवार छ मेरो हृदयमा । मानबिय करुणा, सहयोगि भावना र साझा खुसिको बाँडिचुँडी भन्दा पनि स्वार्थ, छलकपट र लुछाचुँडीमा सिद्दहस्त देखिन्छन् यहाँका सर्वश्रेष्ठ आधुनिक प्राणीहरु । आफ्नो जिवन प्रतिको मुल्यमा अडिग भएर होला मैले केहि जिवनशैलि समय अनुकुलको अपनाईन ।
कर्मलाई रङ्गिन बनाएर मुस्कुराएँ न कि कपाललाई । बाईकलाई आवश्यकताको मिटरले नापें न कि मनोरञ्जनको । दुनियाँलाई देखाऊने ट्याटु खोपिन त के भो मैले आफैंभित्र दुनियाँ देखिने अन्तर्मनको यात्रा कोरें ।

अष्ट्रेलिया, युके, वा अमेरिकाको कुनै समुन्द्रि किनारमा बिकिनि ड्रेसमा पोज दिंदै गरेकी आफ्नि प्रेमिका संग टाँसिएको फोटो फेसबुकमा अपलोड गर्ने मेरा सहपाठीहरु संग मेरो कहिल्यै कुनै ईर्ष्याभाव छैन ।

पेशागत प्रेम

मलाई यो थाहा छ कि मैले हिडेको बाटो अरु धेरैले हिड्न सक्थे र अरुहरुले हिड्दै गरेको बाटो म पनि उत्तिकै रफ्तारले हिड्न सक्थें । तर, आत्माले निर्देश गरेको र आफ्नो बिबेकले रोजेको बाटो सदैब सुखद् अनि आनन्ददायी हुन्छ ।
कैलोमैलो नकोरेको कपाल, चिसो र धुलोले पट्पट् फुटेका गाला, हात अनि खुट्टा । फोहोर लागेको शरिरमा नमिलिरहेको लुगा लगाएका साना-साना भर्खरै तोतेबोलि फुटेका नानिहरु । मलाई दैनिक रुपमा स्कुल जाने बाटोमा देख्ने बित्तिकै खाँदाखाँदै खान छोडेर त खेल्दाखेल्दै खेल्न छोडेर दौडेर आउँछन् अनि च्याप्प मेरो हात समात्छन् । म उनिहरुको आँखामा हेर्छु, निश्चल, निर्दोष र निश्कपट प्रेम टलपल-टलपल देख्छु । आश्चर्य लाग्छ जो सँग बोल्ने भाषा त मिल्दैन, मैले कस्तो प्रेम गरें हुँला र यो अबर्णनिय आकर्षण पैदा भयो ?

साँच्चिकै महसुस हुन्छ प्रेम भाषामा होईन, भावमा सृजना हुँदो रहेछ ।