शाश्वत बिमोचन

Wednesday, January 1, 2014

बिदेसी अतिथि , स्वदेशी स्वागत

अनायासै संग्रहित हुन्छन् अनुभूतिहरु
 त्यसैगरी हुन्छन् बिग्रह पनि……… !
कति जीवन भोगाई पल पल नविन रहे
र, दोहोर्याएर  आए कति घटनाहरु
भर्खर किनेको नयाँ  किताब कति बास्नादार
अनि त्यस्तै नयाँ  लुगा पनि
अटुट स्वादनमा हराईदिउँ लाग्ने,,
हुन त जीवन मा नयाँ को अभाव कहाँ रह्यो र ?
हरेक खित्का हाँसोहरु ,हरेक ढिक्का आँशुहरु
अनेक शब्दका लागि प्रायोजित हरफ र डिकाहरु
अलग अलग पदचाप र पाइलाहरु
भिन्नै रहे सङ्घर्ष र सिकाईहरु
हुनसक्छ , सबैलाई दिईएन "नयाँ " को पदवी

बडो हुंकार सहित मेरो घरमाथिको आकाशमा
हवाई जहाज उडेपछि  स्कुल दौडने म
आलुको घडी बाँध्दा सेकेन्ड सेकेन्डमा रोमान्चित हुन्थें
बलेसीको ओजेल हेरेर समय जान्ने मेरी आमा
रेडियोको घण्टा पिच्छे आउने टुकटुके झन्कारमा
कम्ति हर्शोन्मादले गद्गदाऊँनु भएन
रातभरी ढिकीमा अनिदो मेरो समाजले 
अदित्तिय प्रविधिको आगमनमा
कम्ति उमङ्ग मनाएन ………….!!!
हुनसक्छ , हेर्दा हेर्दै चन्द्रमाको कला वृद्धिको आभास गरिएन।
हुनसक्छ , काखको बच्चा हुर्किएको मेसो पाईएन।

आजको दिन एक गन्यमान्य नयाँ पाहुना दिन हो
नयाँ चिल्लो कपि जस्तै सुबासी समयरेखाको एक बुँद हो
खुसि,आशा, सफलता र सत्य शान्तिको संचार
उमङ्ग ,उत्साह , उल्लास र स्फुर्तिको आकार
संगाल्दै उज्यालिएको यो अद्भुत संसारलाई
आज नयाँ नाम जुरेको छ "नयाँ बर्ष "
हुनसक्छ यो बिदेसी अतिथि , स्वदेशी स्वागतमा।