त्यो मितिसम्म ती घरमा क्यालेन्डर पुगेको हुनेछैन,
बिना पात्रो, त्यो मितिको तिथि याद गराउन
आउनेछिन् 'नकचरी फुपू भदो माइती'मा ।
तिनीहरु बस्ने त्यो घर त्यस्तै छ..,
घर भित्र कालो दलिनमाथी सिउरिएको सातपोके,
घर बाहिर पिढिको पल्लोछेउको पालिमा झुन्डिएको उहिल्यै खुइलेको जुत्ता,
अनि आँगनको डिलमा एउटा हाँगो हरियो भएर बाँकी मरेको कागतीको बोट !
कहिल्यै काम नदिएको ती चिज त्यो घरको शोभा !
उनिहरु भन्छन्-चर्पी नभएकोले नै करेसाको साग सप्रेको हो ।
ती मान्छेहरुको गाउँ पनि त्यस्तै छ ...,
बाल बिबाह सामाजिक कुरिती भनेर पढाएको मास्टरले
बालिका भगाएर लान्छ,
धूम्रपान क्यान्सरको कारण हो जान्ने डाक्टरले
बाटोमा चुरोट तान्दै हिड्छ ।
चोर पक्रने जिम्मा पाएको पुलिस
चोरहरुको पार्टनर बन्छ।
सुख्खा लागेर बालिनालिको बिजोग देखिन्छ,
बाटोमा सधैं पानीको आहाल जम्छ ।
अचम्मै छ ! त्यो गाउँ पनि आजकाल,
सकि-नसकी पर शहरको सिको गर्छ ।
लाग्छ, अब त शहरको हावा गाउँ पसेको छ ।
ती मान्छेको देशमा
देशको 'नाम' मात्र शेष छ ।
अग्लो शिर थामिनै नसकेर होला,
बिदेश संग हरदम झुकिरहन्छ
लसुन उमार्न यति मुस्किल छ,
सुन किनेर लगाउछ ।
मोहि माग्न अघि सर्छ, तर ढुंग्रो लुकाउछ ।
विद्याले पनि मान्छे विद्वान् नहुने रहेछ ।
पैसाले पनि कोहि धनवान् नहुने रहेछ ।
भक्तिले पुजिएका शक्ति पनि भगवान नहुने रहेछ
त्यसैले,तिथि नै रीति हो भने,
ती मान्छेहरूलाई भनिदेउ-
"कुहिएको सातपोके, काम नलाग्ने जुत्ता र मरेको कागतीको बोट फालिदेउ एकै दिन,त्यही दिन,
खोज नयाँ क्यालेन्डर र झुन्डाउ भित्तामा ।
नयाँ महिना लागेपछी नयाँ पाना पल्टाउ ।
'लुटेको धनले फुपूको सराद्धा' गरेर,
'भाविले सुम्पेको भविस्य' दागी नबनाउ !"