शाश्वत बिमोचन

Friday, December 1, 2017

कालो पर्दा भित्र

दस एघार बर्षको जस्तो देखिने एक बालिका बस स्टेशनमा देखिइन् ।गहुँगोरी, चटक्क मिलेको अनुहार। उनले लगाएको मैलो लुगा उनको रुप अनुसार मेरो आँखामा सुहाएनन् । यिनी स्कुल जाने केटी हुनुपर्ने, बिहानको नौ बजेर पनि केही समय बितिसक्यो ,स्कुल सुरु हुने बेला नि हुन लाग्यो तर यिनी किन यो पहिरनमा ? मनमा अनेकौं प्रश्न उब्जिदै थिए, एउटा भ्यान आउने बित्तिकै उनी उठेर त्यसमा चढिन् ।उनी भ्यानको पछाडीबाट चढ्न लाग्दा त्यसमा लगाइएको कालो पर्दा केही हटेको थियो । भित्र त्यस्तै थुप्रै बालबालिका कोचिएर बसेका रहेछन् ।उनी मुस्किलले अप्ठ्यारो संग कोचिएर बसिन् ।लगत्तै कालो पर्दा लाग्यो र गाडि हुइकियो ।
मेरो मनमा प्रश्नको बाढी आइरह्यो ।
तिनी को होलिन् ?
त्यसरी कहाँ जान्छिन् ?
किन जान्छिन् ?
त्यो कालो पर्दा ??
चार पाँच महिना अगाडि घटेको त्यो घटना मलाई कत्ति चित्त बुझेन ।अहिलेसम्म पनि बेलाबेला त्यो सम्झेर मनमा कुरा खेलिरहन्छ । जब आफ्नै मन संग चित्त बुझ्दैन म बिचलित महसुस गर्छु ।
साँच्चै म कति असहाय हुन्छु !
तिनि त स्कुल ड्रेस लगाएर, किताबको झोला बोकेर स्कुल बस चढ्नु पर्ने ।यो मेरो मनले मागेको दृश्य थियो तर वास्तविक दृश्य पुरै फरक थियोे ....
मेरो मनले "यस्तो हो" भनेर निर्क्योल गरेको कुरा जब "यस्तो होइन" भनेर स्विकार्नु पर्छ, त्यतिबेला असाध्यै पिडाबोध हुन्छ ।
किन किन, म कोहिजस्तो पनि हुन सकिन ......
आजभोलि सबैभन्दा बढी यही कुरा खेलिरहन्छ मनमा ।
सायद म संग कोहि पनि खुशी छैनन् । मेरो साथ र उपस्थिति धेरैले आफ्नो कल्पनाबाट झिकिसके होलान् ।
धेरैले रमाइलो महसुस गर्ने खाने पिइने जमघटमा मलाई उकुसमुकुस हुन्छ ।
कलकल बगिरहेको खोलाको पानी हेर्छु, त्यहाँ हरेक जलबिन्दु एक भएर एकै आवाजमा बगेका छन् । म जस्तै हुलहरुमा नअटाएको अंश न त पानीको बहावमा भेटेँ न त बादलको एकतृत बेगहरुमै ।
मैले कयौं बाटोहरु हिंडे । कहिल्यै नहिडेका र अब कहिल्यै पाइलाहरु नपर्ने बाटोहरु प्रशस्तै हिडिएका छन् म बाट  ।
कयौंपटक हिंडिएका बाटोहरु फेरिंदो समयक्रममा बिरानो भैसके ।
यी स्वप्निल संसारका स्वार्थहरु सायद नब्युँझिकन मर्नेछ्न् ।
मैले जति कुरा पढे ती करिब-करिब भुलिसके ।
म जे हु भन्थें अब आफैलाई थाहा भैसक्यो म त्यो होईन ।
बाँच्न बाँकी जिन्दगिको लागी जहिल्यै पनि नयाँ पढाई चाहिन्छ ।
लाग्छ म यस्तो बिन्दुमा छु, मलाई कसैले सुम्पेको अतीत मैले लिँदै लिइन ।भबिस्य मैले कहिल्यै पाउन सकिन ।
यसरी हर भोगाई तटस्थ र शुन्य परिवेशबाट गुज्रिरह्यो ।
मेरो लागि म डुब्दै डुब्दै भावनाको यो "मारियाना ट्रेन्च" सम्म आइपुगेँ  जहाँ अरु यो गहिराई सम्म आउने कल्पना पनि गर्दैनन् ।
आफुलाई छुन नसक्ने अनेक बिलौनाहरु म सुनिरहन चाहन्न ।
आँखाहरु बिजाइरहने यो धुलाम्मे दृश्यहरु म हेरिरहन सक्दिन ।
यदि मलाई पुग्नुपर्ने ठाँउ थाहा छ भने ती बाटोहरुमा सहि र सरल बाटो बताइदिने धेरै जना भेटिनेछन् ।
म गन्तव्य बिनै हिंडे भने त्यहाँ भेटिनेहरुले धेरै बाटोहरु मात्रै बताइदिनेछन् ।
मान्छेहरु असाध्यै ज्ञानि हुन्छन् यदि "ज्ञान" आफूसंग छ भने ।
मान्छेहरु असाध्यै मायालु हुन्छन् यदि "माया" आफूसंग छ भने ।
आफूसंग नभएको कुरा जब अरुमा खोज्न पुग्छु अनि अरुसंग पनि त्यही शुन्यता मात्रै पाँउछु ।
म समयको कालो पर्दा भित्र बसेर यो कष्टकर अनौठो यात्रा गर्दैछु र ती बालिका अझ अर्को कालो पर्दा भित्र छिन् । उनको जीवन भोगाई झन् कति गहिरो होला ??
यी  पर्दाहहरु भित्र रहेर यात्रा गरिरहेका हामी दुबै अपरिचित यात्री अलगअलग स्टेशनमा रोकिंदै जानेछौं ।
र ,हामी दुबैलाई थाहा छैन यसरी कहाँ सम्म पुग्नेछौं...!!