शाश्वत बिमोचन

Sunday, June 9, 2013

के हुन्छ र ?

कर्कलाको पातभरि, देख्छु शित् का थोपाहरु
अनायासै प्वाट्ट फुट्छन् , सपनाका फोकाहरु ।
आमा ढिला फर्किनु भो, घाँस्'को भारी पुर्याएर
भन्नु भयो "आज स्कुल, नगएर के हुन्छ र ?" ।।

घर्'मा बा'को भरै छैन, भाई बैनी मसिना छन्
कामै-काम् ले आमाको मुख् ,जैल्यै पनि पसिना छन् ।
निउरो खोजें हिजो दिनभर्, कापी किन्ने पैसा आथ्यो
कुन्नि किन बा'ले मागे, दिँदा साह्रै दुख लाग्यो ।।

स्कुल पुग्न घन्टौंसम्म, उकालोमा चढ्नु पर्छ
हृदयले सधैँ भन्छ , "मैले धेरै पढ्नु पर्छ " ।
पढाएको बुझिंदैन, सर्'को पिटाई कति खानु ?
आशाहरु मर्दैगा'छ ,व्यर्थै लाग्छ स्कुल् जानु ।।

मेला पर्म गर्नै पर्यो, घर्'मा चुलो बाल्नलाई
कुहिएको खर्'को छानो, सके टिन्'ले टाल्नलाई ।
छोरो भई जन्म्या भए, खलासी भै सक्थें होला
काँ-काँ पुग्थें ? के-के गर्थें ?, न्यास्रो लाग्थ्यो "देउता खोला " ।।

बा आमाको मिठो स्वप्ना, म कहिल्यै नहुनाले
थिचोमिचो हुँदै गयो, "किन"? भनि नरुनाले ।
थाहा छैन नियतिले , कैले मेटी दिन्छन् थर;
स्कुल जाँदा के भएँ र ?, नगएर के हुन्छ र ?? ।।



Thursday, June 6, 2013

भरिन्छु म आँखाभरि

कोल्टे फेर्दा फेर्दै बित्छ, आजभोलि रातहरु
एक्लै हिड्दा खोज्छ मन, तिम्रा कोमल हातहरु । 
दर्किएर पानी पर्छ, मुटु थर्काउने गरि
रुझ्यौ कि झैँ लाग्छ त्यता, भरिन्छु म आँखाभरि ।।

पारी डाँडा हुस्सु बस्छ, तिम्रो तस्बिर बनाएर
बादल उड्छ आकाशमा, तिम्रै केश फिँजाएर।
तिम्रो मुस्कान चोरी हाँस्छ, लालीगुराँस पाखाभरि
जताततै तिम्लाई देख्दा, भरिन्छु म आँखाभरी ।।

घाँस काट्न बन जाँदा, जुका देखि लाग्थ्यो डर
सम्झाउँदै टिपी फाल्थ्यौ, कति धेरै थियो भर ।
आजभोलि यतापनी, जुका लाग्छ नानाथरी
सताऊँदा, ती दिन सम्झी, भरिन्छु म आँखाभरी ।।

घाम लाग्दा पानी पर्दा, ओताऊँथ्यो शमि रुख
देखाऊँथ्यौं प्रेमकला, रमाऊँथ्यो मानि सुख  ।
रिसाऊँदा अंगालेर, फकाऊँथ्यौ घरिघरि
"के भो ?" भन्ने क्वै नहुँदा, भरिन्छु म आँखाभरी ।।

हात काट्दा हालिदिन्थ्यौ, गन्धे मुन्टा निचोरेर
घाँगर च्याति बाँधी दिन्थ्यौ, बाको गाली नसोचेर ।
ठेस लाग्दा रगत बग्दा, भक्कानिन्छु मरिमरि
अत्तालिँदै आउँछौ लाग्दा ,भरिन्छु म आँखाभरी ।।

सुख दुख जिन्दगीको, एकै चक्का दुई पाटो
नियतिले हिँडाई दियो, हामीलाई भिन्नै बाटो  ।
फुलाऊँथ्यौ मेरो मनमा, सयपत्री सुनाखरी
उजाड हेर्दै उदासी भै, भरिन्छु म आँखाभरी ।।