शाश्वत बिमोचन

Monday, October 16, 2017

साथिको यादमा...

म मेरो प्रिय साथिको यादमा रुँदै छु,
तिमी किन गिज्याइरहेछौ, बादल ?
के मेरो जस्तै तिम्रो पनि:
सपना चुडिएको छ ?
साथ छुटेको छ ?
हाँसो खोसिएको छ ?
छैन भने अब यो लोलि नमिलाउ ।
म एक्लै रुन्छु ।
हे साउन ! मेरो जिन्दगीको मौसम तिमी बिनै पुर्ण छ ।
बिन्ती तिमी अब कहिल्यै-कहिल्यै नआउ ।

म मेरो अनन्य यारलाई बोलाइरहेछु,
घाम डुब्न पनि नपाउदै, तिमी किन कराउँछौ, झ्याउँकिरी?
के तिमिमा पनि मेरो जस्तैः
बिछोडको पीडा छ ?
हृदयमा क्रन्दन छ ?
असहाय भावना छ ?
मनभरी छट्पटी छ ?
छैन भने, म मेरो सामर्थ्यले चिच्याउँछु, तिमी नरोक ल !
आज मेरो आवाज उसको आत्माले सुनोस् ।

म मेरो प्रिय मित्र भेट्न चाहन्छु ।
बित्थामा तिमी किन दौडिन्छौ, त्रिशुली गङ्गा ?
के तिम्रो साथी पनि टाढाको "पैसा फल्ने देश"बाट हराएको छ?
के तिमिलाई पनि आफ्नो साथिको अङ्गालोमा कस्सिन मन छ ?
के तिमिलाई पनि आफ्नो दोस्तिसंगै  बिताएका एक-एक पल याद छ?
छैन भने, भो नबग यसरी लक्ष्यहीन भएर ।
मेरो स्मृती यात्रा तिमी बेस्सरी सुसाउँदा झन बिचलित हुन्छ ।

मेरो प्रिय साथी, मेरो धड्कन !
कहाँ छौ तिमी ?
मलाई यसरी एक्लै छोडेर गयौ ?
तिमी त खरानिका कणहरु बनेर छालहरुमा बगेर गयौ ...
धुवाँका ज्वालाहरुमा उहीँ र उस्तैगरि हाँसेर गयौ....
तिमी कति निष्ठुरी ?
यहि हो तिम्रो धर्म ?
आज तिमी नअटाएको यो संसार पुरै रित्तो छ ।
यो अबिछिन्न बग्ने आँसुहरु संगै
यो एक एक कुन्ठित सपनाहरुका साथ
यो अमिट अनन्त यादहरु भोग्न
मट्टीतेल सकिएको टुकीको लुँडो
म कतिन्जेल उकासुँ ?
मेरो प्रिय साथी , एकचोटि त भन ..


No comments:

Post a Comment