रोएर पाइदैन थाहा छ, तर पनि रुन मन लाग्छ ।
पर्खेर आउदैन थाहा छ, तर पनि पर्खन मन लाग्छ ।
मनको पनि त आफ्नै विवशता छ,
नरुचाएको घरमा उसले अक्सर पाहुना बनेर बस्नुपर्छ ।
कस्ले बुझ्छ र ? 'मन'लाई आफ्नो मन बुझाउन कति मुस्किल छ !
हात खाली छ, साथ खाली छ, झोली खाली छ
आश्यर्य लाग्छ, यो रित्तो संसारमा सपना के मा भरिएको छ ?
बुढी लैनो गाई भिरको बाटो टाढा चर्न गएकी छ, थाहा छैन कतिबेला कसरी फर्कन्छ?
तर पनि दिनभरी बाच्छो आफ्नो माउ आउने बाटो हेरिरहन्छ ।
आँखाले देखिने जति मेरो हरेक डोब तिमिले मेट्यौ होला प्रिय !
एक पल आँखा चिम्ल त, मेरा यादहरुको लस्कर कति छ ?
निर्जीव घर चलाउन नसकेर आफैं रन्थनिदै घुम्छ पृथ्वी ।
आमा तपाई सजिब पाठे'घर' बोकेर यो जिन्दगी कसरी काट्नु हुन्छ ?
आमाले बोलाउदा नसुनी सुतिरहने सन्तानहरू,
एक बिहानै अलार्म सुनेर कसरी ब्युझेर उठ्छ्न् होला ?
मान्छेहरु 'मान्छे' संग निहुरिदा सानो भइन्छ झैं गर्छन् ।
हेर त यहाँ स्वयं पृथ्वी झुकेर अडिएको छ, आकाश निहुरिएर बसेको छ ।
मेरो साथी !
एउटै बिन्ती छ- तिमी कहिल्यै पूरा हुन नखोज ।
अहिले यत्ति बुझ,
"यहाँ शुन्यताहरु नै निरन्तर भक्-भक् उम्लिरहेछ ।"