रात सकिएपछि उदाएको रातो घाम जस्तै,
साँचेर राखेका र रहरले जोडेका
राता लुगा आज छरपस्ट देखिए ।
भोकले कलेटी परेका ओठ लालीले टपक्क छोपिदियो ।
ठुलै क्रान्ति भएछ क्यारे गालामा पनि
आज त खुब कान्ति छायो ।
आज नदि र खहरे हरु पनि
माइत जान गर्जेर लम्किएका देखियो ।
यस्तो लाग्छ यसपल्ट स्वयं तिजलाइ पनि 'तिज' लाग्यो कि क्या हो !
'उनी' घर बदलेर हाँस्दैछिन् ।
'उनी' रहर बदलेर नाँच्दैछिन् ।
र 'उनिहरु' चाहिँ जीवन बदलेर बाँच्दैछन् ।
अनि उ चाहिँ बाँच्न पनि नसकेर मरेर गई ।
र, मरेकी उसलाई दुनियाँले एकै स्वरमा लोली मिलाए - "ओहो ! धन्न सुख पाई ।"
सायद यसर्थ सुख पाई-
"चुलो नबलेर मरेकी थिई, चितामा बलेर जान पाई !"
आज बादल सुसाउदा यस्तो लाग्छ,
अलिकती त उस्ले पनि रुनुपर्छ !
आधा धार्तिको असीम आँशु
आधा आकाश पोखिएर भएपनी धुनुपर्छ !!
आजै,
दुई नदि मिसिए र कतै टाढा पुगे ।
दुई टुक्रा बादल मिले र कतै टाढा उँडे ।
जोडी चरी मिलेर नयाँ गुँड बनाए ।
अब,
बगेको निश्चल पानीमा हिलो नमिसियोस् ।
उडेको मनमोहक बादलमा धुवाँ नमिसियोस् ।
बिपत्तिले बस्तीहरु नउठाउन् ।
अब त समयले पनि केही सार्थक यात्रा गरोस् !
संस्कारले पनि सभ्यताको साथ पाओस् ।
धेरै पुरानो जुत्ता,
सिउरेर राखेको घरको पालीबाट हटोस् ।
आजकल मान्छेलाई "मान्छे"कै डर लाग्न थालेको छ..,
तिजलाई "तिज"कै डर नलागोस् ।