मन्दिरमा कति धेरै मान्छे आउँछन् , बत्ति बाल्छन् र पुजा गर्छन् । कसैले कहिल्यै सोच्दैनन् कि उनिहरु हिंडेपछी कतिन्जेल त्यो बत्ती बलिरह्यो र निभ्यो ! बस् उनिहरुलाई पुजा गरुन्जेल त्यो बत्ती बलिरहे पुग्यो ।
होला, मैले पनि प्रेम गरे, मन्को दियो बालेर मायाको मन्दिरमा ।
मलाई चाहिँ कतिन्जेल त्यो प्रेमको दियो बलेर निभ्यो होला जस्तो लागिरहन्छ अझै पनि । त्यसैले त म अरु जस्तो हुनै सकिन ।
पुष्ट शरीरका सबै भाव भङ्गित् मिलेका अठार- बीस बर्षे केटी आफ्नो बलिया हातले साबेल उचालेर गिट्टी, बालुवा र सिमेन्ट मोल्नु अघि मोबाइलमा वियोगान्त, मधुर अनि प्रेमिल गीत बजाउछिन् । कहिले छुल्याहापन झिकेर कसैसँग फोनमा गफ गर्छिन् त कहिले सानो सिन्का रङमा चोपेर भित्तामा आफ्नो नाम लेख्न भ्याउँछिन् । उनको त्यो नियमित दैनिक चर्तीकलाले जो कोहिलाई आफ्नै बय र लयमा फर्किन बाध्य बनाउँछ ।
झमझम पानी परेर झ्यालबाट बाहिरको मौसम नियाल्दै गर्दा, टिनको छाना र मकैको पातमा पानीको थोपा बज्रीएर मिश्रित साङ्गीतिक ध्वनि दिँदा तिमी अन्तिम भेटको तस्वीर बनेर स्मृतिमा आइरहन्छौ ।
माया त मैले पनि अरुले जसरी गर्थे, गर्छन् र गर्नेछन् त्यो भन्दा भिन्न संग गरिन । तर मायाको अनुभुती बेग्लै अबस्य रह्यो ।
सायद त्यही नै हाम्रो अन्तिम भेट थियो । भबिस्य मधुरो टुकि लिएर पर उभिएको थियो, तिमी आफ्नै हातका मसिना भाग्य रेखाहरु पढ्न खोज्दै थियौ ।छेउमा उभिरहेको मैले तिम्रो उज्यालो छेक्दै छु जस्तो तिमिले महसुस गर्यौ र मलाई पनि त्यस्तै लागेकोले बाहिर निस्किएँ । मन भारी थियो र आँखा भरिएको थियो, टाउको दुखेर बेस्सरी रिंगटा लाग्दा मुटुको धड्कन तेज गतिमा पुगेको थियो ।र पनि तिमिलाई एक चोटि अन्तिम पटक हेर्न मन लाग्यो । मैले नछेकेको त्यो उज्यालोमा प्रष्ट संग भाग्य पढिरहेकी तिमी अझै बढी राम्री र मायालु देखियौ ।
आज कुँडिएको दाँतले ठेट्ना मकै चपाउँन जस्तै गार्हो भैरहेको छ यो यादहरु सम्हाल्न ।
खाने बेलामा के खायौ होला जस्तो लागिरहन्छ । सुत्ने बेलामा निदायौकी निदाइनौ जस्तो भैरहन्छ ।घाम लाग्दा तिमिलाइ पोल्यो वा गर्मी पो भयो कि जस्तो लागिरहन्छ । पानी पर्दा कतै रुझ्न पो पुग्यौ कि जस्तो लाग्छ । कुनै पल त्यस्तो भएन जहाँ तिमी बाहेकको मेरो निजि समय बचोस् ।
तिम्रो यौटा मुस्कानले मलाई संसार जित्ने आँट दिन्थ्यो । तिम्रो एउटा मायाको संकेत वा शब्दले मेरो जिन्दगिको शब्दकोष भरिदिन्थ्यो र तिम्रो सानो सम्झनाले मात्र पनि जीवन प्रतीको बिश्वास जगमगाउँथ्यो । मेरो आँखा मा तिम्रो आँखा मिसिदा मैले संसार झन उज्यालो देख्थे । मेरा संकल्पहरुमा तिम्रो सामिप्यता थपिदा मैले कत्ती सपना लेखिसकेको थिए । मेरा यात्रामा तिम्रो साथ भेटिदा मैले आफ्नो गन्तव्य देखिसकेको थिएँ । तिमी मेरो जिन्दगीको त्यो ज्योती थियौ, त्यो प्राप्ती थियौ र त्यो सहारा थियौ जुन संग धर्तीको कुनै अमोघ चिज पनि फिक्का महसुस हुन्थ्यो ।
तिमिले खाएँ भन्दा म अघाउँथे ।त्यो मेरो कस्तो भोक थियो होला ?
तिमिले हिडेँ भन्दा म पुगिसक्थेँ ।त्यो कस्तो बाटो थियो होला ?
तिमिले खेलुँ भन्दा म जितिसक्थेँ । त्यो कस्तो खेल थियो होला ?
तिमी हाँस्दा म रमाउथेँ । त्यो कस्तो खुसी थियो होला ?
तिमी मेरो मनमा बस्दा यो संसार तिमी नै हौ जस्तो लाग्थ्यो । बाँकी चिजहरु कहाँ अट्यो होला ??
आज कसलाई दोष दिउँ ??
कि हामी,
एक अर्काको आँखामा अटाइरहन सकेनौँ। निश्चिन्त भएर प्रेममा मात्रै समाहित भैरहन पाएनौं ।
म संग यत्ती आँसु छ भन्ने जानेको भए सबै आजै पोखेर सकिदिन्थेँ अनि म संग यत्ती खुसी छ भन्ने थाहा पाउन सकेको भए हरेक दुखको लागि खटाएर राख्थेँ ।
यति अन्जान र अबोध मनको रहेछु म ।
अब तिमि कहिल्यै त्यहाँ भेटिन्नौ ।सम्झदा यो मन हिलोमा गाडिएको गह्रौँ ढुङ्गा जस्तै हुन्छ ।
हुन त भाग्य बदल्न नसक्नेहरुले बाटो बदलेकै राम्रो ।
तिमि देखिने बाटो म बदल्न कोसिस गर्ने छु र अर्कै बाटोमा बानी पार्ने छु तर तिमि मेरो मनको बाटो हुँदै हरपल हिडिरहने छौ। म नगए पनि तिमी आउने छौ । यो सम्झनाको खेल मैले जितेँ , बिर्सनाको तिमिले ।
फेरि रोयो मन ... मायामा त हार्न पाए पो खुसी मिल्छ त ! लाग्यो एकचोटी भेटौँ, सारा मन खोलिदिउँ, रुनु जति रोइदिउँ , घुँडा टेकेर माफी मागुँ र सुरु गरौं नयाँ स्वप्न जीवन । तर असम्भव !!
यो मन बहकिन्छ, बुझ्छ अनि फेरि त्यही क्रम दोहिरिन्छ । मनको गति यो शरीर नरहँदा पनि रोकिन्न रे !
त्यो काल्पनिक संसार कल्पना गर्नै ठिक छ। यथार्थ जीवन भोगाइ त यहि बास्तबिक संसार मा पाइन्छ ।यसको सौन्दर्य झन अनुभुती योग्य छ ।
सोच्छु, मैले रोइरोइ त्यो माया बचाएको नै भएपनि ढल्न लागेको घरलाई टेको लगाएर अड्याए जस्तो हाम्रो सम्बन्ध कतिन्जेल अडिरहन सक्थ्यो होला र ?
भन्छन्- "मायाको अर्को नाम नै पीडा हो र त्यही सबै भन्दा भाग्यमानी हो जसले माया गरेको मान्छे आफ्नो जीवन साथी बनाउन पाउछ ।"