शाश्वत बिमोचन

Monday, October 16, 2017

अर्कै बाटो भएर आउ ..

मैले हत्केलामा जून राखेर;
आकाशमा अक्षर रोपेँ ।
हरेक निद्रामा फूल भरेर
प्रत्येक गमलाहरुमा सपना रोपेँ ।
यी छाम त मेरो हात,
चाँदको चिसो अझै छ !
उ हेर त माथी आकाशमा,
बादलले तिम्रै आकृति कोरिरहेछ ।
म हरक्षण भनिरहेछु .....!!
सायद तिमी बिना
कोहि बुझ्दैनन् मेरो मनको भाषा....
सायद तिमी बिना
कोहि देख्दैनन् मेरो पाईलाको अभिलाषा..
हेर त म कति गहिरो रहेछु !
"तिनिहरुका आफ्नै आँखाहरु भन्दा !!"

मैले घाम निलेर पनि,
तताउन सकिन यो छाती !
सारा समुन्द्र पिएर पनि,
मेटाउन सकिन मनको प्यास !
उसै उसै चिसिन्छ, यो मुटु ।
भन त- "चिसो मुटुमा प्रेम कसरी धड्कन्छ ?"
यी आँखाहरु खोलेर,
भन त - "यो संसार पुरै कहाँ देखिन्छ र ?"
बिन्ती बुझाईदेउ न यो लोकलाई,
"प्रेम तब 'प्राप्ति' बन्छ,
जब ग्रहण गरिन्छ आँखा चिम्लेर ..."

शितले भिजेको बिहानीमा
फक्रँदै गरेको गुलाफको हाँगा टेकेर
जब जुरेली चरी रातो घामको गीत गाउँछे
अनि फूल्ने गर्छ यहाँ हरेक दिन,
अनि खुल्छ दिब्य उज्यालो,
तिम्रो ओठ खुल्दा झैं ।
त्यही प्रहरमा आउ तिमी..
त्यही पुर्णतामा आउ तिमी..
अँ, साँच्ची सुन त प्रिय !
यो बाटो भएर नआउनु तिमि,
अर्कै बाटो भएर आउ ।
किनकी,
किनकी यहाँ भगवान भोकै सुत्दा
ढुङ्गा अजिर्ण भएर मर्छन् ।।


शुन्य क्यानभास

म संगको सबै 'यादहरु' मेटाउ ।
सक्छौ भने मेरो 'माया' पनि मेटाउ ।
मेरो 'सामीप्यता' आफ्नो 'जिउने आधार' भन्थ्यौ
अब मेटाउ त्यो 'अतीत' ।
आफ्नो 'भाग्य' सम्झिन्थ्यौ मलाई
सक्छौ ??
सक्छौ भने, मेटाउ आज त्यो 'भाग्य' ।।
💔💔💔💔💔💔💔💔💔💔💔
जति 'रित्त्यायो' उती 'भारी' हुन्छ यो मन,
जति 'खन्यायो' उती 'भरिन्छन्' यी आँखा,
जति 'कस्यो' उति 'काँप्छ्न्' यी ओठ,
जति 'उखेल्यो' उती 'गाडिन्छ्न्' यी स्मृतिहरु ...
र पनि,
कति प्रिय लाग्छन् मलाई
तिमिले दिएका यी 'प्रेम निशानीहरु .....'!!
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
स्वप्निल पखेटा हालेर मैले चन्द्रमाको 'चाँद' छोएँ,
घाम संग हासें,
बादल संगै रोएँ ।
अट्ठहासले पहाडका कुना कन्दरा 'गुन्ज्यो',
आँशुहरुले सारा बस्तिहरु 'भिज्यो',
यति ठुलो हुरी आयो,,,
यति ठुलो झरी आयो,,,
आश्चर्य !!!
न त 'तिमी' नै आयौ,
न त 'निभ्यो' तिम्रो प्रतीक्षामा बलेको
मेरो 'बिश्वासको दियो '!!
💘💘💘💘💘💘💘💘💘💘
सायद त्यो 'बाटो' नै त्यस्तै थियो,
जति हिडियो, उति डोबहरु मेटियो
न त फर्कनै सकियो,
न त पुग्ने ठाँउ देखियो....
अदभूत यात्रामा तिमी यौटा 'अनुभुति' बन्यौ
'संगीत', 'सुवास', 'सौन्दर्य' र 'सच्चाई'को ।
आयौ, एउटा मनमोहक क्षणिक 'लय' भएर
र गयौ, बिचित्र 'विलय' भएर ।
तिमी 'खुला आकाश'..
म 'शुन्य क्यानभास' ...
✋✋✋✋✋✋✋✋✋✋

"प्रेमिल जीवन"

हाम्रो सजिएको नयाँ बिहानी हेर्न
सायद गत रात राम्रोसँग नसुतिकन
उ हेर त ! सबेरै, दाँत पनि नमोली आएछ घाम ।
दुनियाँ साउती मार्थ्यो,
प्रभातको रातो सुर्य संग जे मागे नि पुग्छ भनेर..
वा रे वा !
आज उ स्वयं हामी संग प्रेमकला माग्दै छ ।
लाग्छ-
तिमि बाटै चन्द्रमाले चौचाँद पायो,
तिम्रै चन्चलतामा ताराहरु झिल्मिलायो,
साँच्चै,
तिम्रो प्रेरक उपस्थिति,
मेरो जिन्दगीको पूर्णता ।
💘💘💘💘💘💘💘💘💘💘💘💘
तिमी त्यो ज्योति हौ, जुन मेरो आँखामा मिसिँदा
मैले संसार झन् उज्यालो देखें ।
तिमी त्यो सपना हौ, जसको संकल्पमा
मैले अदभूत प्राप्ति भेटें ।
तिमी त्यो सहारा हौ,
जसको साथमा मैले अगम्य गन्तव्य चुमें ।
तिमि त्यो साथी हौ, जसको सामीप्यतामा
मैले हर चुनौती जितें ।
तिमी यसरी आयौ,
निसन्देह सबथोक लिएर ।
💌💌💌💌💌💌💌💌💌💌💌
यो कस्तो भोक होला,
तिमिले खाँदा म अघाउने ?
यो कस्तो बाटो होला,
तिमिले हिंड्दा म पुग्ने ?
यो कस्तो खुशी होला,
तिमि हाँस्दा म रमाउने ?
यो कस्तो किताब होला,
तिमिले पढ्दा मलाई कन्ठस्थ हुने ?
यति अनुपम- "प्रेमिल जीवन"
यति मनोरम- "तिम्रो आगमन"।।
💑💑💑💑💑💑💑💑💑💑



किन छोड्यौ ??

फूल फूल्ने पाखामुनी, पानी बग्ने खोली
के गर्दैछौ, बोल्नै छोड्यौ, किन आजभोलि ?

बसन्तको हरियाली, गौंथलीको जोडी
कति रमाइलो हिड्दा, एकै छाता ओडी
मनै हर्ने कुहुकुहु, कोइलीको बोली
के गर्दैछौ, बोल्नै छोड्यौ, किन आजभोलि ?

मन्को रहर उम्लिएर, बढ्ला ढुकढुकी
सम्झनाको बतासले, निभाउला टुकी !
तिम्रा प्रिय साथी सङ्गी, चढे होलान् डोली
के गर्दैछौ, बोल्नै छोड्यौ, किन आजभोलि ?

साथिको यादमा...

म मेरो प्रिय साथिको यादमा रुँदै छु,
तिमी किन गिज्याइरहेछौ, बादल ?
के मेरो जस्तै तिम्रो पनि:
सपना चुडिएको छ ?
साथ छुटेको छ ?
हाँसो खोसिएको छ ?
छैन भने अब यो लोलि नमिलाउ ।
म एक्लै रुन्छु ।
हे साउन ! मेरो जिन्दगीको मौसम तिमी बिनै पुर्ण छ ।
बिन्ती तिमी अब कहिल्यै-कहिल्यै नआउ ।

म मेरो अनन्य यारलाई बोलाइरहेछु,
घाम डुब्न पनि नपाउदै, तिमी किन कराउँछौ, झ्याउँकिरी?
के तिमिमा पनि मेरो जस्तैः
बिछोडको पीडा छ ?
हृदयमा क्रन्दन छ ?
असहाय भावना छ ?
मनभरी छट्पटी छ ?
छैन भने, म मेरो सामर्थ्यले चिच्याउँछु, तिमी नरोक ल !
आज मेरो आवाज उसको आत्माले सुनोस् ।

म मेरो प्रिय मित्र भेट्न चाहन्छु ।
बित्थामा तिमी किन दौडिन्छौ, त्रिशुली गङ्गा ?
के तिम्रो साथी पनि टाढाको "पैसा फल्ने देश"बाट हराएको छ?
के तिमिलाई पनि आफ्नो साथिको अङ्गालोमा कस्सिन मन छ ?
के तिमिलाई पनि आफ्नो दोस्तिसंगै  बिताएका एक-एक पल याद छ?
छैन भने, भो नबग यसरी लक्ष्यहीन भएर ।
मेरो स्मृती यात्रा तिमी बेस्सरी सुसाउँदा झन बिचलित हुन्छ ।

मेरो प्रिय साथी, मेरो धड्कन !
कहाँ छौ तिमी ?
मलाई यसरी एक्लै छोडेर गयौ ?
तिमी त खरानिका कणहरु बनेर छालहरुमा बगेर गयौ ...
धुवाँका ज्वालाहरुमा उहीँ र उस्तैगरि हाँसेर गयौ....
तिमी कति निष्ठुरी ?
यहि हो तिम्रो धर्म ?
आज तिमी नअटाएको यो संसार पुरै रित्तो छ ।
यो अबिछिन्न बग्ने आँसुहरु संगै
यो एक एक कुन्ठित सपनाहरुका साथ
यो अमिट अनन्त यादहरु भोग्न
मट्टीतेल सकिएको टुकीको लुँडो
म कतिन्जेल उकासुँ ?
मेरो प्रिय साथी , एकचोटि त भन ..


को होला ??

हुने को होला, नहुने को होला ??
यो छाती चिरिँदा नरुने को होला ?

मनले म बोल्छु सुन्दैन कोहि...
कहाँ जाउँ हाँस्न, बसुँ कहाँ रोई ??
सपनामा स्वर्ग, नछुने को होला ?
यो छाती चिरिँदा, नरुने को होला ?

फूलैको घरमा काँडैको ढोका
जहाँ छ माया, त्यहीँ छ धोका
अाँशुले आँखा, नधुने को होला ?
यो छाती चिरिँदा, नरुने को होला ?

जोडेर टम्मै  गाउँ र बेशी
ब्यथा भुलाउने, भए हितैषी..!
मन्को यो गाँठो, नफुने को होला ?
यो छाती चिरिँदा, नरुने को होला ?

यादमा कुँदिएका..

ती 'सम्झना'मा आईन, बिर्सेर म के आउँला ?
भोकाउदा त खाईन, अघाउँदा के खाउँला ?

अलिकती हँसाउन, मिठो माया मिसाउँन
नसा हुँदा त गाइन, छु होसमा के गाउँला ?

त्यो दिनको उज्यालोमा, त्यो चाँदनिको चाँदमा
हिड्ने बाटो भो पाईन, यो रातमा के पाउँला ?

अनिंदो भै अधैर्य भै, आँखाभरी टल्पिएका
ती यादमा कुँदिएका, मोति दाना गुडाउँला...

वरिपरि मुटुभरी, फुलेका यी फूल चुँडी
जो बिरानो उसैसंग, नाता जोडी के जाउँला ?