पछिल्लो एक दशकमा म घर जाँदा र फर्कंदा तर्नुपर्ने
त्रिशुलिको पुलमुनिबाट कति पानि बग्यो, मलाई थाहा छैन ।
मेरो घरअगाडी आँगनिको डीलमा कति चमेलिको फूल फूले र ओईलाए
त्यो पनि मलाई यकिन छैन ।
सायद जिन्दगी सापेक्षतामा चल्छ
क्यारे, त्यसैले सबै कुरा एकै पटकमा खुट्याउन सक्दिन म ।
परिवर्तित समयसँगको साक्षात्कारका हर सवाल जवाफहरु प्रकृतिको अनन्त लयमा बिलय भैसके होला तर म
यौटा-यौटा बुँद टिपेर प्रेमिल स्वरुप दिने असफल प्रयास गर्दै छु आजसम्म पनि ।
बाल्य मन
मलाई 'आफ्नो' भन्ने
छुट्टै 'चिज' हुन्छ अनि त्यसको माया लाग्छ भन्ने थाहा हुँदा गाई, गोरु र बाख्रा
चराउन गाउँका साथी सङ्गीहरु संग गोठालो जान सक्ने भएको थिएँ । ऐंसेलु पाक्ने समयमा
ओल्लो पल्लो गाउँबाट थुप्रै मानिसहरु त्यो ठुलो ऐंसेलुको झाँङमा जम्मा हुन्थे । पल्लो
गाँउको दाइले अर्को गाउँकी दीदिलाई अञ्जुलिभरी ऐंसेलु टिपेर दिंदा मलाई किन नदिएको
होला भनेर मेरो बालमन कति धेरै दुखीत हुन्थ्यो । म स्यानो फुच्चेलाई एक टोप्रो
दिंदा के जान्थ्यो तिनको ? आखिर उनिहरुको पनि केहि नाता त थिएन नि.....
पुस माघको महिनातिर वनमा
खासै घाँस हुँदैनथ्यो । सुकेका खरु गाई गोरुहरु चर्न रुचाउँदैनथे । एक आपसमा
चाटाचाट गर्दै घाम तापेर दिन बिताउँथे । उनिहरु यति जोडले चाट्थे की शरीरका पुरै
रौंहरु यताउता फर्केर कुरुप देखिन्थे । बाख्राहरु अलिअलि चर्थे । बनमाराका मुनाहरु
खोजिखोजि खान्थे भने यसको फूल उफ्रीउफ्री मेसो मिलाएर खान्थे । साना साना पाठाहरु
चर्दाचर्दै दौडिएर मेरो काखमा आएर फ्यात्तै लाडिएर बस्थे ।
सबैले आ-आफ्नो प्रेमका
बान्किहरु देखाउँथे भलै मेरो मष्तिष्कमा सबै कुराहरु अटाईरहेको थिएन ।
विवाह खेल
अलिक उमेर ठुलो
हुँदै जाँदाका दिनहरु झन् प्रात:स्मरणिय लाग्छन् ।
खेत र पाखातिर
ढुङ्गा र काठका टुक्राको गाडी गुड्न मिल्ने बाटो बनाएर गाडी कुदाईन्थ्यो ।
ढुङ्गाको मुर्तीमा शृङ्गार भरेर त्यसलाई अनेक किंबदन्तिको पात्र बनाईन्थ्यो ।
एकपटक गाउँकै बालसखी सँग विवाह खेल हुँदै थियो । सब सामाग्रि माटो र सालको पातबाट
तुल्याईएका थिए । विवाह मण्डपमा भब्य विवाह चल्दै थियो । एक जना गाउँको ठुलो
मान्छे त्यहाँ आईपुगेर हामि केटाकेटीहारुलाई गिज्याउन थाले । भागाभाग चल्यो ।
दुलाहा, दुलही, पुरेत, जन्ति, जग्य सब तितर बितर ।
सम्झँदैमा
काउकुति लाग्ने मेरो अञ्जान बालसुलभको पखेटा कति छिट्ठै पलाए, थाहै भएन ।
किशोरावस्था
किशोराबस्थाको प्रबेशद्वारबाट नियाल्दा 'समाजको बर्गिय स्वरुप' मलाई 'प्राकृतिक'
लाग्थ्यो र त्यसैको मनोबैज्ञानिक असरले पनि होला म अन्तर्मुखी स्वभावको भएँ ।
किशोरावस्थासँग भरिदै आउने योवन र विपरित लिङ्गी प्रतिको स्वभाबिक आकर्षण
बिभिन्न कारणले दमित हुन पुग्यो भन्ने लाग्छ मलाई । कुनै केटि दौंतरिसँग बोल्ने,
नजिक हुने, जिस्कने जस्ता रहर मुलत दुई कुराले कुन्ठित भैरह्यो । एकातिर त्यसो
गर्नु सामाजिक रितिरिवाज र परम्परामा लज्जास्पद हुनुमात्र नभई झण्डै-झण्डै
पापपुर्ण नै हुन्थ्यो भने अर्कोतर्फ आफ्नै ब्यक्तिगत स्वभाव र छवि पनि 'भलाद्मि'
किसिमको थियो । कुनै केटी सँग आफ्नो नाम जोडिनु भनेको ठुलो बेईज्जतिको कुरा थियो ।
कसैले 'फलानो' प्लस 'फलानि' भन्यो भने त "मरेसमान" होईन्छ जस्तो
लाग्थ्यो ।
समयले यसरि बाँकटे हान्यो कि आज, 'फलानो' प्लस 'फलानि' हुन सकिएन भने
"मरेसमान" भईने दिन आयो ।
अनुभुति
मैले जिवन यात्राका दौरान दुई किसिमका बाटोहरु हिडें । एकाथरिको
बाटोमा मेरा पैतालाका डोबहरु देखिन्थे । अर्कोथरीमा ति डोबहरु देखिदैनथे । जहाँ
डोबहरु देखिन्थे ति सबै अस्थायी हुन्थे र जहाँ देखिंदैनथे ति सबै अग्यात हुन्थे ।
म आफुलाई खोज्न अरुभित्र र अरुलाई खोज्न आफुभित्र पुग्थें । मलाई आफुले गरेको
प्रेम र पाएको प्रेम दिग्भ्रमित लागिरह्यो जिन्दगिको क्यानभाषमा ।
कबित्व
प्रकृतिको काखमा भेटिने रङ्गिन गुलावहरुसँग कत्ति कुरा गर्थें, जुरेलि चराको
जोडि हेरेर कत्ति टोलाउँथें, घामपानिको बिरलै संयोगमा बन्ने ईन्द्रेणी टपक्क टिपेर
मायालुलाई घुम्टो ओडाउँदै गरेको कल्पेर कत्ति भाबुक हुन्थे, शितल हावाको झोक्कामा
म कत्रो महल बनाउँथें, बेजोड नदिको प्रवाहको स्वच्छ स्पनदनमा म कत्ति पुलकित
हुन्थें ।
साँच्चै यो अन्तस्करणबाट अङ्कुरित प्रेम कति धेरै रोमाञ्चकारी हुन्छ है ?
लामो कपाल, मिलेको जिउढाल, हँसिलो चेहरामा बैशको छुल्याहा पोख्ने सहेलि सम्झेर
म खुब कबिता लेख्थेँ र तुरुन्तै च्यातिदिन्थें ।
पछि थाहा पाएँ- 'सोह्र बर्षको उमेरमा जो पनि कबि हुन्छ ।'
आधुनिकता
स्कुले जिवनमा हठात् उठेका मनका उथलपुथलहरु मनमै सेलाए । अञ्जान प्रेमका
रापहरुले मेरो मानसपटलको उद्देलनहरुलाई उजिल्याएर झन् चम्किलो बनाए । भौतिक
आधुनिकता र बैचारिक उदारता फक्रे-फूलेको काठमाण्डौंको क्याम्पसमा पढ्ने अनि पढाईने
शैलि, मेरो आफ्नो भोगाई, बुझाई र सोचाईको सामुन्ने अगम्य सगरमाथा जस्तै थियो ।
काठमाण्डौं शहर सिमेन्ट र बालुवाको जटिल रासायनिक मिश्रणबाट बनेको हुन्छ भन्ने
अमिट छाप थियो म मा । कंक्रिट शहर भन्दा बढि कठोर मन त्यहाँका मान्छेहरुको छ भन्ने
भुत आज पनि सवार छ मेरो हृदयमा । मानबिय करुणा, सहयोगि भावना र साझा खुसिको
बाँडिचुँडी भन्दा पनि स्वार्थ, छलकपट र लुछाचुँडीमा सिद्दहस्त देखिन्छन् यहाँका
सर्वश्रेष्ठ आधुनिक प्राणीहरु । आफ्नो जिवन प्रतिको मुल्यमा अडिग भएर होला मैले
केहि जिवनशैलि समय अनुकुलको अपनाईन ।
कर्मलाई रङ्गिन बनाएर
मुस्कुराएँ न कि कपाललाई । बाईकलाई आवश्यकताको मिटरले नापें न कि मनोरञ्जनको ।
दुनियाँलाई देखाऊने ट्याटु खोपिन त के भो मैले आफैंभित्र दुनियाँ देखिने
अन्तर्मनको यात्रा कोरें ।
अष्ट्रेलिया, युके, वा
अमेरिकाको कुनै समुन्द्रि किनारमा बिकिनि ड्रेसमा पोज दिंदै गरेकी आफ्नि प्रेमिका
संग टाँसिएको फोटो फेसबुकमा अपलोड गर्ने मेरा सहपाठीहरु संग मेरो कहिल्यै कुनै
ईर्ष्याभाव छैन ।
पेशागत प्रेम
मलाई यो थाहा छ कि मैले
हिडेको बाटो अरु धेरैले हिड्न सक्थे र अरुहरुले हिड्दै गरेको बाटो म पनि उत्तिकै
रफ्तारले हिड्न सक्थें । तर, आत्माले निर्देश गरेको र आफ्नो बिबेकले रोजेको बाटो
सदैब सुखद् अनि आनन्ददायी हुन्छ ।
कैलोमैलो नकोरेको कपाल,
चिसो र धुलोले पट्पट् फुटेका गाला, हात अनि खुट्टा । फोहोर लागेको शरिरमा
नमिलिरहेको लुगा लगाएका साना-साना भर्खरै तोतेबोलि फुटेका नानिहरु । मलाई दैनिक
रुपमा स्कुल जाने बाटोमा देख्ने बित्तिकै खाँदाखाँदै खान छोडेर त खेल्दाखेल्दै
खेल्न छोडेर दौडेर आउँछन् अनि च्याप्प मेरो हात समात्छन् । म उनिहरुको आँखामा
हेर्छु, निश्चल, निर्दोष र निश्कपट प्रेम टलपल-टलपल देख्छु । आश्चर्य लाग्छ जो सँग
बोल्ने भाषा त मिल्दैन, मैले कस्तो प्रेम गरें हुँला र यो अबर्णनिय आकर्षण पैदा
भयो ?