चन्द्रागिरि डाँडोमा
आईपुगेपछी पृथ्वीनारायण शाहलाई देखाईएको थियो रे - 'उ त्यो काठमाण्डौं हो, त्यो
भादगाउँ हो र त्यो पाटन हो..... '
मलाई पनि यो गाउँमा
पाईला टेक्ने बित्तिकै त्यसैगरि देखाईएको थियो - 'उ त्यो तिमिले पढाउने स्कुल हो,
त्यो विद्यार्थी हो र त्यो तिमि बस्ने घर हो ।'
उनी पो
'पृथ्वीनारायण' थिए, काठमाण्डौं, भादगाउँ र पाटन देखेर 'तिन वटै शहरको राजा बन्न
पाए' भन्ठाने रे, म त 'नारायण' मात्रै न परेँ; पढाउने स्कुल, बिद्यार्थी र
बस्नुपर्ने घर देखेर निक्कैबेर किंकर्तब्यविमुढ भएको थिएँ ।
हो, म सामान्य
स्यंसेवी शिक्षक, एक बर्षको लागि आएको ।
जिवन शुन्यबाट सुरु
हुन्छ र शुन्यतामै विलिन हुन्छ । यि दुई शुन्यताहरुको बिचमा यो पुर्णताको खोजि
बिचित्र र चाखलाग्दो छ । सायद त्यहि पुर्णता प्राप्तिको प्यासले मलाई एउटा बिछट्टै
मधेसि गाउँको माझमा उभ्याइदियो, धनुषाको कटरैत गाउँमा ।
आज म निश्चिन्त छु, कि यो
एक बर्षे योगदान धेरै केटाकेटीहरुको आँखाको सपनाको साक्षी मात्र होइन, सफलता प्राप्तिमा सहयोगि बन्दैछ ।
म कहिल्यै तराई नबसेको
पहाडको ठिटो, त्यसैले होला मेरो लागि यहाँको एक-एक पल सम्झन लायक भए । कसैले
मधेसमा बसेर के गारिस् भन्यो भने म भन्छु- "मैले केहि गरिन, मात्रै यो
बर्षैां देखि नियतबश थुप्रिएको फोहोर कोट्याईदिएँ, यो शैक्षिक र सामाजिक झ्याउ र लेउ लागेको पोखरिमा झ्वाम्मै हामफालेर तरङि्गत गराइदिएँ
।" अघिल्लो दुई बर्षको अनुभवले मलाई सरकारी स्कुलमा हुने कतिपय स्वार्थगत र
मनोगत प्रबृत्ति धेरै नजिक बाट बुझाउने प्रयत्न गरेको थियो ।
हरेक वर्ष स्कुलमा कुनै
नयाँ शिक्षकको प्रबेश र कोहि शिक्षकको बहिर्गमन प्राय भएकै हुन्छ, जसबाट प्रत्येक वर्ष कक्षा र घण्टी बिभाजनको समयतालिका नयाँ बनाउनु पर्छ । त्यहि काम नियमित र सहज कक्षा सञ्चालन नहुने बलियो बाहाना बन्छ । झण्डै एक महिना सम्म समय त्यसै झुलाईन्छ
। त्यो तितो यथार्थको अभ्यास यो स्कुलमा पनि हुन लागेपछि म आफैंले एकै दिनमा
समयतालिका बनाईदिएँ । हर पाईलामा साथ दिने अभियान्ताहरुको बलियो टिम पाउनु पनि मेरो
अहोभाग्य हो । अनुभव र भैपरि आउने परिस्थिति दुबैले अघि बढ्न पाठ सिकाउँदो रहेछ ।
झण्डै आठ सय बिद्यार्थी
रहेको स्कुलमा फोहोरको कारणले शौचालय प्रयोग गर्न त के नजिकै जान र हेर्न पनि
नसकिने थियो । पढाउन सुरु गर्दै थिएँ, यौटा बिद्यार्थीले हातका पाँच औंला देखाउँदै
भन्यो-
"सर पाँच
मिनेट..."
'के पाँच मिनेट ?'
फेरि त्यहि भन्छ- 'पाँच
मिनेट सर' ।
'किन?'
बल्ल अरुले बुझाईदिए,
'पाँच मिनेटको अर्थ पिसाब फेर्न जानु र दस मिनेटको अर्थ दिसा गर्न जानु' यि दुबै
कामको लागि पर खेतमा जानुपर्ने ।
कोहि कल्पना गर्छ कि,
एउटा शिक्षक हर्पिक बोकेर स्कुल जान्छ र घिनाईरहेका विद्यार्थिको अगाडी लागेर चरम
दुर्गन्धित चर्पिमा हात हाल्छ ? चर्पिमा कोच्चिएको कागज, ईंटा, प्लाष्टिक आदि
झिकेर प्रयोग योग्य बनाउँछ ?
सकरात्मक परिबर्तनको बाटो
पक्कै अप्ठेरो हुन्छ, तर सुरुवात गर्यो भने साथ दिनेहरु प्रशस्तै हुने रहेछन्,
धेरै बिद्यार्थीहरुले साथ दिए । त्यसैको दबाबले होला, शौचालयको छेउमा ट्युबवेल
बन्यो । साना, मध्यम र ठुला केटाकेटीहरका लागि शौचालय सम्म पानि लैजान क्षमता अनुसारका तिन ओटा बाल्टीहरु पनि आए । अब खुसिको सिमा रहेन ।
चर्पि सफा भयो । दुइ
घण्टी पछि दश मिनेटको ब्रेक राखियो, अब आपतकालिन बाहेक पढाई चलिरहँदा कोहि पनि
बाहिर जानु परेन ।
कक्षाकोठाको अभावले बिद्यार्थीहरु चौरमा बसेर पढ्न घाम र पानिका कारणले प्रतिकुल
हुन थालेपछि कोठा निर्माणको लागि बिद्यार्थीको साथ लिएर गोबर माटोले पोत्न थालें ।
कोहि बिद्यार्थीले सोच्दैनथे कि कुनै शिक्षक स्कुलको कक्षाकोठा पोत्छ ! सबै केटाकेटीले खुसि भएर साथ दिए, एकै क्षणमा कक्षाकोठा तयार भयो ।
सम्झँदा पनि अफसोच हुने
सुरुका दिनको यौटा घटना छ ।
खाजाको रुपमा रामसिकिल
दाइले चना पकाउनु भयो । भुँइभरी मिल्काइएको थुप्रै किताब कापिहरु मध्ये यौटा
च्यातेर सबै स्टाफलाई त्यहि कापिको पानामा खाजा बाँड्नु भयो । मेरो ध्यान खाजामा
भन्दा यति सुन्दर अक्षर लेख्ने बिद्यार्थी को होला भन्नेमा गइरह्यो । तैपनि नयाँ
ज्वाँई जस्तै भलाद्मी भएर चुपचाप खाजा खाईदिएँ । अर्को दिन उसैगरी उही खाजा
पाक्यो, भुँईबाट यौटा किताब तानेर च्यात्दै सबैलाई बाँड्न थालियो । भुँईमा किताब
वा कापि खसेमा टक्टक्याउँदै ढोगेर राख्ने म, आफ्नै आँखा अगाडी ध्यार्-ध्यार् किताब
च्यातिंदा टुलुटुलु हेरिरहन सकिन, मैले आपत्ती जनाएँ । भोलिपल्टै केहि थान
प्लेटहरु किनेर ल्याईएछ ।
मैले भुँईभरि छरिएका
किताबहरु बिषयगत र कक्षागत हिसाबले एक ठाउँमा मिलाएर राखें ।
किताबहरु मिलाएर राख्दा,
खाने प्लेट र बस्ने कुर्सि किनाउँदा, धुलैधुलो लागेर बेवारिसे पारिएका शिल्डहरु
पुछेर मिलाएर सजाउँदा; चर्पि, स्कुल हाता र कक्षाकोठा सफा गर्दा, अनुदानमा आएर त्यसै थन्किएको कम्प्युटर प्रयोग गराउँदा,
प्रार्थना सभा बिद्यार्थीहरु बाटै सञ्चालन गराउँदा सकारात्मक परिवर्तन प्रतिको
बिश्वास बढ्दै गयो । यी साना-साना कामको सफलताले अन्य कामहरु जस्तै: बाल क्लबको
गठन, भित्ते पत्रिकाको सुरुवात, बिद्यार्थीहरुलाई बिभिन्न सदनमा बिभाजन,
प्रतिस्पर्धात्मक बिबिध अतिरिक्त क्रियाकलाप लगायत अभिभाबक भेला आदिको लागि योजना
र कार्यान्वयनको ढोका खोलिदियो ।
"लगातार पर्ने
पानिले ढुङ्गालाई पनि खियाउँछ" भनेर सेक्सपियरले उसै भनेका होईन रहेछन् ।
यौटा कुनै बिद्यार्थी
शिशु कक्षादेखी कक्षा १० सम्म पढिसक्दा झण्डै ११ बर्ष स्कुल आउँछ, शिक्षक सँग समय बिताउँछ । तर, त्यही बिद्यार्थीले सो अबधिमा कुनै पनि दिन कोहि पनि
शिक्षक आफ्नो घरमा आएको देख्न नपाउनु कति बिडम्बनापुर्ण छ ! गुरु शिष्य बिच हुने
पबित्र दोहोरो सम्बन्धको आदिम इतिहास आज धुमिल हुँदै गएको देख्छु म । यौटा १० कक्षाको बिद्यार्थिको घरमा जाँदा उसले मलाई भन्यो-"आज सम्म हाम्रो घरमा कोहि
पनि सर आएको छैन, तपाईं हाम्रो लागि भगवान जस्तै हो...."
उ यति भावबिभोर थियो कि
यस्तो लाग्थ्यो; उसको लामो तपस्यामा प्रसन्न भएर 'तथास्तु' भन्न म त्यहाँ पुगेको
हुँ ।
म त भगवान थिईन, मात्रै
फिस्स हाँसिदिएँ ।
एक दिन कक्षामा सबैलाई सोधें -'काठमाण्डौंमा को-को गएको छ'? कसैको हात उठेन ।
उनिहरु सोध्छन्- 'सर,
पहाड कस्तो हुन्छ ?' म फोटो देखाउँदै थोरै बर्णन गर्छु, उनिहरु आश्चर्यचकित भएर
अनन्त कल्पनामा डुब्छन् ।
म खोज्दै छु, यहाँ
कहाँनेर खोट छ ? यो देशको भुगोलमा वा शैक्षिक, सामाजिक,
राजनैतिक प्रणालिमा ?
नत्र यौटा नेपालिलाई पहाड
देख्न वा यौटा नेपालिलाई तराई देख्न मङ्गल ग्रहमा पुग्ग जत्तिकै गार्हो पर्छ त?
मलाई चिन्नेहरु सबै शिक्षककै रुपमा बुझ्छन् तर झण्डै तिन बर्षको निरन्तर शिक्षण अभ्यासमा लागिरहँदा पनि हृदयले मलाई आफु शिक्षक हुँ जस्तो कहिल्यै लागेन । म बिद्यार्थीहरुसँगै फुटबल खेल्छु, भलिबल खेल्छु,
फिल्म हेर्न फिल्महल जान्छु, उनिहरुकै साईकलको पछाडी सिटमा बस्छु, उनिहरुले
खाईरहेको खाजा खान्छु, सँगै हाटमा किनमेल गर्न जान्छु, बिदाको दिन खोलाको तिरमा
सँगै भैंसि चराउन जान्छु, सञ्चो-बिसञ्चो ख्याल गर्छु अनि बिरामि हुँदा जचाउन लगेर
औषधि खुवाउँछु । जिवनको हर पक्षलाई पढाई बनाईदिन्छु, हर चिजलाई किताब बनाईदिन्छु । रुखको
हाँगा देखाएर बिभिन्न कोणहरु सिकाईदिन्छु, बाटो र खोलाको किनारा देखाएर बिभिन्न
रेखाहरु देखाईदिन्छु, भैंसिले आल खेल्ने बृत्ताकार पोखरि र बिचमा गाडेको खम्बा
देखाएर बृतको बिशेषता बताईदिन्छु, कापि र पेन्सिलको ब्यापार गर्न लगाएर नाफा र
नोक्सान पढाईदिन्छु, कक्षाकोठा र चौर नापेर क्षेत्रफल निकाल्न
लगाउँछु, दौडाएर ल.स. बुझाईदिन्छु त उभ्याएर बर्गसंख्या र घनसंख्या चिनाईदिन्छु ।
के म शिक्षक हुँ ??
हेराई र बुझाईले धेरै
कुरालाई फरक पारिदिन्छ । यहाँ हर भोगाईमा किताब छ, हर पाईलामा पढाई छ । त्यो खोज्न
र महसुस गर्न उत्प्रेरित गर्ने बिशाल मनहरुको खाँचो छ ।
यौटा ब्यग्रता लिएर मधेस
आन्दोलन छिचोल्दै यहाँ आउँदा म बसेको घरकी असहाय अपाङ्ग बृद्द आमैले
देख्नेबित्तिकै बडो खुसि भएर आफ्नै भाषामा भन्नुभयो- "आज मेरो घर उज्यालो भयो
।" मैले उहाँको आँखामा हेरें; धपक्क, चम्किलो, तेल थपेको दियोको बत्ति जस्तै
थियो त्यो आँखा । म घर जाँदा मेरि आमाको आँखा यस्तै हुन्थ्यो । नजिकै गएर बसें,
उहाँले मेरो हात समातेर धेरे कुरा गर्नु भयो । मैले सबै बुझिन । यत्ति बुझें- यौटा
मसिनो आशाको त्यान्द्रोले पनि जिवनलाई निश्चत धारमा सम्हालिराख्छ ।
यौटा जलेको चिम समेत
फेर्न नसकेर मधुरो टुकि बालिरहनु भएको रहेछ बृद्द आमैले । नयाँ चिम फेरिदिएपछि
बलेको बत्तिको उज्यालोमा उहाँलाई हेरें, मलाई यति खुसि र सन्तुष्टि प्राप्त भयो,
त्यो प्राप्ति यो संसारको सबै धन, शक्ति र पद एकै ठाउँमा मिलाए भन्दा धेरै बढी
थियो ।
कसलाई सोधौं म; यो दुख
किन यति धेरै गह्रौं ? सुख किन यति हलुका ?
उहाँको लागि एक बाल्टि
पानि लगिदिँदा, चार पाईला डोर्याईदिंदा, मौरिले अनुहारभरि टोकेर गाडेको खिल झिकेर
आौषधि ख्वाईरहँदा म जिवनको सार भेट्छु ।
जरुरि छैन यो गर्न, तर
मलाई लाग्छ प्रेमको बदलामा पाईने अनन्त प्रेमरस नै शाश्वत जिवनको प्राप्ति हो ।
मधेस आफ्नो अधिकारको लागि
लामो समय देखि अझै आन्दोलित छ, जिवन यापन अत्यन्तै कष्टपुर्ण छ, म सबै कुरा नजिकै
बाट देख्दै र भोग्दै छु । कतिपय साथी र आफन्तले सोध्छन् -
'कहाँ के गर्दैछस् ?'
"धनुषाको यौटा
स्कुलमा पढाउँछु"
'स्थाई हो?'
"नाई, होईन ।"
'कहिले सम्मको लागि त?'
"यहि बर्ष मात्रै
।"
'अनि त्यसपछि ?'
"केहि गरौंला
नि...."
'यस्तो आन्दोलनको बेला,
असुरक्षित ठाउँमा, भो अहिल्यै छोडिदे, जाबो जागिरै त हो..'
म सँग शब्दले दिने जवाफ
छैन, किनकि जिवनको अर्थ हरेकको आफ्नै बुझाईमा हुन्छ । त्यो बुझाई मन बाट आउनु
पर्छ, शब्दको कहाँ मन् हुन्छ र ? ठुलो हार्दिकता निकाल्न ठुलै हृदय चाहिन्छ । उहि
समयको अन्तरालमा यहाँ दौडेर 'सय बिन्दु'मा जो पहिले पुग्छ, उसैलाई 'बिजयी' घोषणा
गरिन्छ चाहे उ दौड रेखाको ५० वा ६० औं बिन्दु बाट दौडन सुरु गरेको किन नहोस् ।
धेरैको नजरमा म 'बिजयी' छैन किनकि मेरो यात्राले 'सय बिन्दु' छोएको छैन, उनिहरुलाई
के थाहा कि, म माईनस सय देखि आईरहेछु यो शुन्य बिन्दुमा ।
न मलाई कुनै प्रतिस्पर्धाको
लालसा छ, न त आफ्नो कर्म प्रतिको निराशा नै ।
आज मलाई कसैले खुसि
बनाइरहनु पर्दैन, त्यसका लागि आफ्नै कर्म काफी छ । म सँग मिठो निन्द्रा छ । आफैंमा
मात्र सिमित सत्य, अरुको नजरबाट पनि सोच्न र खोज्न सिक्दै छु । म जे हुँ र जे
गर्दैछु त्यस प्रति गर्ब गर्न सक्ने भएको छु ।
अनिश्चित भविष्यको हरेक पक्षमा पनि प्रेमको बदलामा प्रेमकै प्राप्तिको निश्चितता देख्छु म । मैले आफ्नो
जिवनमा सय भन्दा बढी पढाउने शिक्षक पाएँ र सम्झँदै हातका औंलामा गन्न थालें । एउटा हातका
औंला पनि बढी भयो, एक दुई जना बाहेक गनिनै मानेनन् । किन??? किनकि उनिहरुले आफ्नो
घण्टिको ४५ मिनेट मात्रै बिद्यार्थीहरुलाई मष्तिष्कमा राखे । हातको औंलामा गनिन २४
सै घण्टा शिक्षकको मष्तिष्कमा बिद्यार्थी हुनुपर्छ ।
धेरै गुनासो सुन्छु शिक्षकहरुको - "बिद्यार्थीहरुले सिकेनन्" । मेरो सोधनि बिसौं बर्ष
बिद्यार्थीहरुलाई पढाउँदा 'के सिक्नुभयो' भन्ने हो । र, धेरै सँग यसको जवाफ छैन ।
मान्छेहरुमा 'आफ्नो
कमजोरी ढाक्न अरुलाई दोष दिने र अरुको मेहनतको जस सकेसम्म आफैं लिन खोज्ने मनोगत
प्रबृत्ति' हुँदो रहेछ । शिक्षकहरु पनि यसबाट टाढा हुन सकेका छैनन् ।
हामिले सोचेको स्वप्निल
समाज निर्माणको लागि पनि सकरात्मक सोच र जागरुक मन भएकाहरु अब अघि बढ्नुपर्छ । यदि
एउटाले फोहोर कोट्याउने चेष्टा गर्यो भने सोहोर्न अरु धेरैले साथ दिनेछन् । यदि
आँखा बन्द गरेर बसिरहने हो भने आउनेवाला समाज पुरै अन्धो भएर जाने कुरामा दुई मत
छैन ।
जे.डब्ल्यु. डासन् भन्छन्- 'असल काम गरिेएन भने
अन्तत: पुग्ने ठाउँ खराब नै हुन्छ' ।
No comments:
Post a Comment