उज्यालो पछि
अँध्यारो र अँध्यारो पछि उज्यालो सधैं भइरह्यो तर यो एकैनासको कहिल्यै भएन ।
हरेक दिन फरक भएर
बित्यो यो वर्ष पनि ।
असिम अनुभुतिहरु
सँगालेर काठमाडौं फर्कने दिनसम्म जनकपुर वरवरका आँपका बगैंचाहरुमा लटरम्म
चिचिलाहरु लागेका देखिन्थे ।
मानिसका आ-आफ्नै
रफ्तार हेर्दा यस्तो लाग्थ्यो कि मनभित्र सबैका सपनाका चिचिलाहरु यसैगरि
भर्भराईरहेछन् ।
उखरमाउलो गर्मिको के
कुरा गर्नु, सम्झँदैमा पसिना छुट्छ ।
एक बर्षे जनकपुर
यात्रा जिवनरेखाबाट हटाईदिने हो भने मेरो सारा जिन्दगी साँच्चिकै बेकारको हुनेछ ।
लक्ष्मीप्रसाद लाई आफ्नो साहित्य यात्रामा 'मुनामदन' जसरि प्रिय बन्यो उस्तै भयो
मेरो जिवन यात्रामा धनुषामा टिच फर नेपालको फेलोसिप पनि ।
अरुले मलाई पक्कै पनि
'पढाउने मान्छे' सोचे तर म धेरै कुराहरु 'पढ्ने मान्छे' भएर आएँ ।
अरुले मलाई 'सबैलाई माया
गर्ने मान्छे' भन्ने बुझे तर म 'आफैंलाई धेरै माया गर्ने मान्छे" भएँ ।
कतिपयले मलाई 'अरुलाई
बदल्न हिडेको मान्छे' ठाने तर म सम्पुर्ण रुपले आफैं बदलिएँ ।
हो, मैले आफ्नो फेलोसिपमा
जिवनको स्वार्थ भेट्टाएँ, कर्मको अनुपम सन्तुष्टी भेट्टाएँ ।
कतिपयको मुखबाट यदाकदा
सुन्छु :- 'मेरो लागि कुनै बाटो छैन....'
"सबैको लागि बाटो
पहिलेनै बनिसकेको छ, आँखा खोलेर हेर्ने मात्र आफ्नो काम हो" । आँखै बन्द गरेर
कहाँ बाटो देखिन्छ त ?
ज्ञान,
विवेक र बिश्वास जति बढायो, उति नै बाटोहरु देख्ने आँखाहरु चम्किला हुने रहेछन् ।
एस.एल.सि. परिक्षा सुरु हुन एक महिना
पनि बाँकि नहुँदा परिक्षा तयारी गरिरहेकी कक्षा १० मा
अध्यायनरत छात्रा 'मनिताको' बिहे भयो । म निम्तो मान्न उनको घरमा जाँदा दुलही पहिरनमा सजिएकी उनले मेरो बडो स्वागत गरिन् । आफ्नै
हातले खाना पस्केर दिइन् ।
म सोचमग्न भएँ । भोजका बिभिन्न
परिकार लिएर मेरो अगाडी आइरहँदा मेरो आँखाले उनलाई होमवर्क देखाउन आईरहेकी एउटी मिहेनती बिद्यार्थी मात्रै देखिरह्यो ।
बेहुला बेहुलीको लागि सजाईएको
कारमा चढ्नुअघि उनले आफ्नी मिल्ने साथीसँग एउटै थालमा भोज खाईन् । सायद उनिहरुले
यो विवश बिछोडलाई साँस्कृतिक परम्पराको रुपमा सहज ठाने ।
मन चोर्ने हेतुले
साथीचाहिँलाई मैले सोधें -"तिमि चाहिँ भोज कहिले खुवाउँछौ त?"
'म अहिल्यै भोज खुवाउँदिन
सर' ।
'किन' ?
"किनकि मेरो सपना
पूरा गर्नु छ" ।
'तिमि जुन अवस्थामा छौ,
त्यसले तिम्रो सपना पूरा गर्न देला' ?
"तपाईले नै
भन्नुभएको होईन, आफुमा विश्वास राख्नुपर्छ भनेर ? म मा पुर्ण विश्वास छ"
म झसङ्गै भएँ ।
भोलिपल्ट विद्यालय जाँदै
गर्दा कोहि बच्चा रोईरहेको आवाजले मेरा पैतालाहरु टक्क अडिए । यसो हेरें साडिको
सप्कोले टाउको सहित मुख छोपेर कोहि बिबाहिता भक्कानो छोडेर रुँदै थिइन् । 'के भएछ'
भनेर बुझ्न खोज्दा कसैले बतायो- 'उसको लोग्नेले मदिराको मातमा बेस्सरि पिट्यो' ।
आँपका चिचिला जस्तै धेरै
मनिताहरुका सपनाहरु बढ्नै नपाई सामाजिक हुरिले उडाइरहेको आभाष भयो मलाई ।
फर्केर हेर्दा ति अनेक
आँखाहरुमा खेलिरहेका सुखद् भबिष्यका अभिलाषाहरु देखेर म भावविभोर हुन्छु ।
'तपाईबाट हामिले धेरै
कुरा सिक्न पायौं, हामिलाई छोडेर नजानुस्, हाम्रो आँखाभरी आँशु हुन्छ' भन्ने
निर्दोष मनका आवाजहरुले सायद मलाई आजिवन प्रेरणा दिईरहने छ ।
अप्ठ्यारोमा साजिलोको
खोजि, अभाबमा अनेक प्राप्तिको खोजि, अहम् भाबमा सम्मानको खोजि भईरहने मृगतृण्णालाई
सोचाई र बुझाईको परिबर्तित शैलिले काबुमा ल्याईदिएको छ आज ।
मेरो मन यति धेरै सजिब र
यथार्थ कथाहरुले भरिएका छन्, र यसले मलाई यति धेरै बलियो बनाएको छ कि अब म जहाँ
पुगेर जे पनि गर्न सक्छु ।
'काम' प्राय सबैले
पाउँछन् तर 'आफ्नो महत्व अनुभुत गर्न पाईने काम' कमैले पाउँछन् । जीवनको सार्थकता
आफैं भित्र हुँदो रहेछ भन्ने कुरा मलाई फेलोसिपले सिकायो ।
No comments:
Post a Comment