शाश्वत बिमोचन

Saturday, October 13, 2018

तिमिले भुल्यौ त के भो ?


तिमिले भुल्यौ त के भो,
मैले भुलेको छैन ...
जाई फुल्यो त के भो,
उन्यु फुलेको छैन ...

हावा बनेर उड्छु,
भन्थेँ आकाश छुन्छु ..
आँसु मलाई देउ
म तिम्रो लागि रुन्छु...
बादल खुल्यो त के भो,
यो मन खुलेको छैन..
तिमिले भुल्यौ त के भो,
मैले भुलेको छैन ।

भाग्य कतै चुकेछ,
रुँदा आँखै सुकेछ
आउ त छामी हेर..
मुटु कति दुखेछ ..!!
पाइला डुल्यो त के भो,
ती याद डुलेको छैन..
तिमिले भुल्यौ त के भो,
मैले भुलेको छैन ।

बाटो धमिलो


सोध्छु जवाफ दिन्नौ, मनै अमिलो हुन्छ ।
आँशु भरेर हिड्छु, बाटै धमिलो हुन्छ ।

लाग्छ तिमिझै अर्को साथी भेटिन्न होला,,
यो प्रिय सम्झनाको तिर्खा मेटिन्न होला,,
सधैं म एक्लो हुन्छु, रातै अनिदो हुन्छ,,
आँशु भरेर हिड्छु, बाटै धमिलो हुन्छ ।

सायद त्यो मौनताको पिडा म बुझ्न सक्छु ,,
यो जिन्दगी हो पुजा, मायाले पुज्न सक्छु ।
त्यै एक मौका दिन्नौ, आशा मलिनो हुन्छ,,
आँशु भरेर हिड्छु, बाटै धमिलो हुन्छ ।

ढुङ्गा हुँदा पनि

कहिले पुजा कहिले धुजा फुलको थुङ्गा हुँदा पनि ,
सबको तारो हुनुपर्यो माटो ढुङ्गा हुँदा पनि ।

मन नहुँदा पनि हासेँ , मनै मर्दा पनि बाँचे..,
आफू मर्दा आफ्नो खुसी लानु पर्ला भनी साँचेँ।
खोला वारि बसिरहे तार्ने डुङ्गा हुँदा पनि,
सबको तारो हुनुपर्यो माटो ढुङ्गा हुँदा पनि ।

कति आए कति गए ऎचोपैँचो कति भए ?
के को लेखाजोखा अब सम्झनामा को को रहे ?
मिठो खान सजिलो भो, लामो जुँगा हुँदा पनि,
सबको तारो हुनुपर्यो माटो ढुङ्गा हुँदा पनि ।