शाश्वत बिमोचन

Sunday, September 11, 2016

मेरो बुद्दत्व

नुवाकोटको एउटा गाउँमा छु, जहाँ म जन्मिएँ ।
प्रकृतिमा ग्रिष्म ऋतुको छनक चरम चुलिमा पुगेको छ । यसपालिको डडेलोले वनमा भुइँका पत्कर र घाँसहरु डडाउने मात्र होइन, बसन्ति पालुवाहरुलाई पनि नराम्ररी डामेछ । आगोले डामेका पातहरु झरेर नयाँ पातहरु सकि-नसकि पलाउन खोज्दै छ ।
विश्वेश्वर प्रसाद कोइरालाले 'नरेन्द्रदाइ' मा लेखेको एक हरफ याद आयो- 'काटेर घाउ लागेको रुख पनि त हरियो हुन्छ नि यदी त्यसमा बाँच्न पुग्ने रस बाँकी छ भने......'
सायद त्यही रस बाँकी थियो होला र त यी जङ्गलका रुखहरु फेरी हरियो हुने चेष्टा गर्दैछन् ।
फाट्टफुट्टको बर्षातले होला, त्रिशुली नदि केहि धमिलिएको छ । किनारै छोपिने गरि बैंश नभरिएकोले होला नदिको बहाब मन्द र शान्त देखिन्छ । अनादि कालदेखि आफ्नै भङ्गीतको रफ्तारमा सतत बगिरहेको यसले कयौं मानिसहरुको अन्तिम सँस्कारको साक्षी बनेर चिताको खरानी पखाल्यो । आफ्नै जिवनदेखी हारेर कहिल्यै नफर्कन चाहने कतिपयहरुलाई सदाका लागि आफुमा बिलय गरायो यसले । र, यो क्रम निरन्तर अझै जारि छ ।
पोखरे फाँटका गराहरुमा मकैका धानचमराहरु निस्केका देखिन्छन् । सुत्ला च्याप्ने तरखर गर्दै होलान् सायद तिनिहरु । टारिका पाटाहरुमा भर्खर चार-पाँच वटा पात हालेका मकैका बिरुवाहरुले भुँई पनि छोप्न सकेका छैनन् । म सानो छँदा मेरा अग्रजहरुले सुनाउँथे- पहिला-पहिला मकैका चमराहरुमा पुष्ट धान फल्थ्यो रे अनि घोगाभित्र सुनका दाना । पछि मान्छेहरु पापि हुँदै गए रे अनि चमरामा धानको सट्टा भुसमात्र फल्न थाल्यो रे र घोगाभित्र सुनको सट्टा मकैका दाना । मान्छेहरु अझै पापी हुँदै गए भने अब त्यो घोगाभित्र पनि कालोपोके फल्छ रे । 'यि, हेर् ! कुनै-कुनैमा कालोपोके फल्न सुरु गरिसक्यो' भनेर देखाउँदा म बडो आश्चर्यचकित भएर हेर्थें ।
मकैको बोटमा धान र सुन फल्ने कुरा त्यतिबेला मेरो कल्पनाको यो 'साम्यबाद' थियो जसलाई आज खुङ्खार कम्युनिष्ट भनिएका पार्टीहरुले 'बर्ग बिहिन समाज' र 'स्वर्ग' भनेर ब्याख्या गर्छन् ।
समयले बाँकटे हानेर कहाँबाट कहाँ पुर्याइसक्यो र पनि जताततै उस्तै देखिन्छ मान्छेहरुका आ-आफ्ना अनुपम जिजीबिषाहरु । आफ्नै जिवन दर्शनको क्यानभाषमा राखेर हेर्दा यी सजिव सवालहरु सधैं बिलक्षण लाग्छन् मलाई ।
भुकम्पले एउटै थुप्रो बनाइदिएका घरका संरचनाहरु अझै ठडिन सकेका छैनन् । सायद सरकारी राहात पर्खिरहेका होलान् कि ! भग्नावशेष हेर्दा अझै आहत् हुन्छन् यी मनहरु । पोहोरको भुकम्पमा माउ गुमाएको गाईको बाच्छो हेर्दै जिङरिङ्ग र ख्याउटे छ । आँखाहरु अझै रसिला छन्, त्यसका । भत्केको गोठबाट मृत माउ निकाल्दा दुधे आन्द्रो फुलाएर खुब रोएको थियो त्यो । अलि तल खाडल खनेर माथिबाट मृत गाई गुल्ट्याउँदा गाईको बडेमानको भरिलो कल्चौंडोमा झरिला थुनहरु माथितिर फर्केका थिए ।
बिचरा बाच्छो, अभागी रहेछ, घाँस खान नजान्दै आमा गुमायो, मोरो टुहुरो । भन्नेहरु 'भाग्यले बाँचेको यो' भन्छन् , यसरी बाँच्नु पनि 'भाग्य' रे !!
गाउँ सुनसान छ भन्ने कुरा बजार सम्म जाने र आउने गोरेटो बाटोले नै बताईदिन्छ । ति गोरेटोहरुमा बलिष्ठ पाउहरुको छाप कतै देखिदैन । बाटोभरी लेउ र झ्याउ लागेको छ, केहि बुढा-बुढिले आक्कल झुक्कल हिडेर बाटोले के टेर्थ्यो ?
राजकुमार सिद्दार्थ गौतमले दरबार बाहिर निस्केर हेर्दा मान्छेहरु दुखी, रोगी, भोको र के-के देखे रे । र, यसको कारण खोज्न दरबार छोडेर हिडेका थिए रे । उनी बुद्दत्व प्राप्त गरेर बुद्द भए । म त भोक, रोग आदि देखेर मात्र होईन, भोगेरै घर छोडेर हिडेको थिएँ । खालि खुट्टा हिडेर स्कुल पढ्न सुरु गरेको मैले खालि खुट्टा हिडेरै स्कुल पढ्न आएकाहरुलाई पढाएर घर फर्किएँ । बुद्दत्व प्राप्त नगरे पनि सिकाईको यौटा चक्र मैले पक्कै पूरा गरें । मेरो भोक, रोग ईत्यादिको अचुक बुद्दत्व भनेको केवल 'डिग्री हासिल गर्नु' भन्ने थियो । खालि हात, खालि खुट्टा र खालि पेटमा देखेको त्यो सपना आज साकार भैसकेको छ ।
स्मृतीका लहरिहरुमा यस्तो प्राप्तिले पनि लामो सन्तुष्टिको निश्वास तरङ्गीत गराउँदो रहेछ ।
गाउँ जति शान्त छ, उतिनै बेचैन पनि । गाउँका दाइभाइहरु खोज्न कि शहर जानुपर्छ कि त खाडिमुलुक । आमाको लाम्टो चुसेर अघाउन नसकेपछी, भोको पेटले छट्पटिएर चर्न निस्केका । दीदिबहिनिहरु आफ्नो प्रारब्धको लेखो शिरोधार्य गर्दै पराईघर गैसके । पोईले बिदेशबाट दुई चार पैसा कमाएर पठाउने भएपछी तिनका जोईहरुले शहर बजारमै डेरा लिेएर आफ्ना केटाकेटीहरु निजी स्कुलमा किन पढाउँदैनथे र ? अब बाँकी तिनै बुढाखाढा रहे । तिनिहरुको जाने ठाउँ नै पो कहाँ छ र ? मलामी पाएछन् भने त्रिशुलिको घाट सम्म पुगेर अलबिदा होलान्, नपाए त्यो अकल्पनिय दुर्दशा म कसरि कल्पुँ ?
सम्झनाका तरेलिहरुमा तिनै दाइ दीदिहरु स्कुल पढ्न जाँदाका यादहरु ताजै छन् । स्कुल बाट फर्कंदा गाउँका दाइ दीदिहरु बजार नजिकै राखेको बिजुलिको बलिया खम्बा आफ्ना कलिला काँधमा हालेर उकालो लाग्थे, गाउँमा बिजुलि बाल्ने उत्कट अभिलाषा राखेर । म निक्कै नै सानो भएकोले उनिहरुको किताब कापि बोकिदिन्थें । त्यहि चौध पन्ध्र बर्षे अल्लारे जोस र अठोटले गाउँमा बिजुलि बल्यो । र, त्यसरि त्यस्तो मुर्ख्याइँ नगरेको भए आज यी बा आमाहरु टुकिको लुँडो उकास्दै हुन्थे वा दियोमा तेल थप्दै नियतिको कठपुतली भएर अँध्यारोमा खेलिन्थे । त्यो जाज्वल्य जाँगरले निरन्तरता पाउने सुअवसर पाईरहेको भए गाउँमा मोटरबाटो उहिल्यै आईसक्थ्यो ।
करोडौंको श्रमशक्ति कौडिको भाउमा बेच्न बिबश भएकाहरुलाई कति जलन हुँदो हो आफ्नै आदर्शको अस्मिता जोगाउन नसकेर ? कहाँ-कहाँको मरुभुमि उजिल्याईरहँदा आफ्नै स्वर्ग उजाडिएको सम्झेर कति आल्हादित् होलान् ती मनहरु ? आँशु, पसिना र रगत सिञ्चेर साँचेको सपना यदि यही यौटा 'जिन्दगी' हो भने, आउ मेरा प्रिय अनुजहरु, सँगै बसेर 'जिन्दगि'लाई फेरि पुनर्परिभाषित गरौं ।
पढेर संसार जित्ने सपना बोकेर स्कुल आएको अबोध बच्चालाई आफ्नै गुरुले 'तँ पढेर खाँदैनस्, बरु हलो जोत्न जा' भनेर पढ्न निरुत्साहित गरेको मेरो आफ्नै आँखाले देखेको छ । यसरी उत्प्रेरणा र हौसला हरण भएको बाल मष्तिष्कले कस्तो 'स्वाभिमान' सिक्ला र कस्तो 'संस्कार' गुरुदक्षिणा स्वरुप चढाउला ? यहाँ सवाल पढ्ने, नपढ्ने वा हलो जोत्ने सँग भन्दा पनि स्वाभिमानी सोच के हुने र यसको दायरा कति हुने भन्ने हो । मैले पढाउँदा बिद्यार्थीहरु सँगको अन्तरक्रियामा कृषक अभिभावकका छोराछोरी बिद्यार्थीहरुलाई 'तिमी भविष्यमा के पेशा गर्न चाहन्छौ ?' भनेर सोध्दा कसैले पनि 'म कृषि पेशा अँगाल्छु' भनेनन् । बरु धेरैले बिदेश गएर पैसा कमाउने कुरा गरे । र, यी उत्तरहरु हाम्रै शैक्षिक, सामाजिक र राजनैतिक यथार्थको प्रतिबिम्ब हो भन्ने मेरो अन्तर मनको बुझाई हो ।
खाडी मुलुकको बालुवा चालेर कमाएको सुन भन्दा हाम्रै बारिमा फलाएको गोलभेंडा बेचेर कमाएको नुन बढी सन्तुष्टी दिने खालको हुन सक्दैन र ? ब्यवहारिक रुपमै यसरी सोचे के होला त ?
म सामाजिक बिग्यानका हरेक सवालहरुमा 'राम्रो' वा 'नराम्रो' भनेर निशाफ दिन सक्दिन तर त्यसका सम्भावित मार्गचित्र बारे केवल आफ्नो राय प्रकट गर्न सक्छु ।
मेरा दाइ भाइहरु, हामिले गाउँका केहि बुज्रुक देखी देशका ठल्ठुला नेतासम्मका अनेकन भाषण सुन्यौं तर, एकचोटी पनि आँखा बन्द गरेर आफ्नै मुटुको धड्कन सुनेनौं । हाम्रा ठुलोबा, बा, काकाले भनेका कुरामा रिसायौं । उनिहरुलाई न त सुन्यौं, न त सम्झायौं नै ! आकाशका सबै तारा गनेर सकिने दिन र हामिले चाहेको जति पैसा कमाउने दिन सायद कहिल्यै आउदैन भन्ने थाहा छ । फेरी पनि, स्वाँस्वाँ र फ्वाँफ्वाँ त्यसैका लागी छ, कस्तो बिडम्बना !
सानोमा गोठालो जाँदा हामिले राम्चे आँपको रुखमा बसेर अनि साउनेको बरको हाँगामा सोईसाला खेल्दै गित गाउँथ्यौं- "गान्टे मुला मै ठुलो हँला, ठुलो भई बाउ आमा पालुँला" । राम्चे आँप त मरिसक्यो, साउनेको बरको बोटलाई के जवाफ दिने ? कि हामी उतै बसेर बरको बोट पनि 'मरिहालोस्' भन्ने !
हामिले गाँउमै बसेर एकपल्ट फरक सोचौं र फरक गरेर हेरौं न । बाँझा बारिहरुमा गोरुको सट्टा ट्याक्टरले जोतेर हेरौं, कोदो रोप्नुको सट्टा काउली रोपेर हेरौं । गहुँ रोप्ने ठाउँमा गोलभेंडा रोपेर हेरौं । गाई फरक किसिमका पालेर हेरौं, बाख्रा फरक किसिमले पालेर हेरौं । भएनछ भने पनि कुनै हाकिमले ओैंलो त ठड्याउँदैन नि । डराई डराई उसलाई जवाफ त दिनु पर्दैन नि । आफ्नै "स्बाभिमानी सिकाई" हुनेछ त्यो ।
म घरबाट रित्तै हात निस्केको थिएँ, र झन्डै दश बर्ष पछी रित्तै हात फर्किएँ, यही "स्वाभिमान" बुद्दत्व को रुपमा साथमा लिएर ।
कतै पढेको थिएँ- "यदि लड्न सुरु गर्यौ त आधा जितिसक्यौ, यदि लड्न सुरु गरेनौ त आधा हारिसक्यौ "
मेरो लडाईं सुरु भयो । यी 'हात' सदैव स्वाभिमानी 'साथ'को पर्खाईमा रहनेछ ।

No comments:

Post a Comment