शाश्वत बिमोचन

Sunday, April 15, 2018

सपना

यो सपना लेखिन्छ या केरिन्छ,
के था ! भाग्य रहन्छ या फेरिन्छ?

किन किन अजिब लाग्छ यो नाता,
कहाँ पुगेर फुक्छ या बेरिन्छ?

के मायामा पनि स्वार्थ हुन्छ र?
भन्छन् शंकाले विश्वास सेरिन्छ ।

हुकुमको जवाफ भए भन्थेँ,
कुन् काम लत्याइन्छ, कुन् टेरिन्छ!

यो जिब्रो बन्दकी राखेर अब,
बश ! दुई आखाले संसार हेरिन्छ ।

सास भरेको छु

बेलुन जस्तो यो जिन्दगी ! आश भरेको छु ।
जिउँदो देखिन्छु  किनकि, सास भरेको छु ।

अस्तित्वको अभिभारा पूरा गर्नलाई
पेटमा केही चामल र, मास भरेको छु ।

मायाको यो रंगीचंगी दुनियाँको माथी
ताराहरु खोजी खोजी आकाश भरेको छु ।

के गुनासो गर्नु मेरो मुटु खाली देख्नेसंग ?
मगमग बसाउने सुवास भरेको छु ।