शाश्वत बिमोचन

Friday, October 10, 2014

"यहि रमिता, यहि कविता "

जीवन पथको केन्द्र बाट
भोगाईका शिलशिलाबद्द परिधिमा
एक -एक बिन्दु नछुटाई, भिन्न भिन्न कोण बाट हेरें
आफैलाई र संसारलाई ।

मध्यान्नको उज्यालो घाममा उभिएर छाँयामा हेर्दै
अनुमान लगाउँथें आफुलाई
सानो रहेछु त्यो पनि कालो …  

अपराह्नको ओइलाऊँदो रबि रष्मिमा नियाल्थें
र बदल्थें आफ्नै स्वरुप सोच
अग्लो लामो रहेछु , कालो यथाबत ………  

प्रवाहित पानी पोखरीको डिलबाट चिहाऊँदा
बिल्कुल फरक रह्यो ठम्म्याई
बाङ्गो टिङ्गो रहेछु , निलो रंगको -चलायमान ।

जटिल जिन्दगीको यो सरल रेखामा
भेटें र भोगें असंख्य मान्छेहरु
मेरो विवेकले बर्गीकृत गर्थ्यो :
मोटा, शिक्षित र चिल्ला -ठुला मान्छे
दुब्ला, सामान्य र फुस्रा -साना मान्छे ,म जस्तै 
हाँगीएका थिए ठुलाहरू पनि
कोहि
नरम, रसिला, इज्जत गर्ने र प्रेरक 
कोहि
रुख्खो, निरस, बेमतलबी र शोषक
हरेक बर्गमा बढ्दै गए हाँगाहरु
कोणहरु थपिंदै गए दृष्टिहरुमा ।

कुनै बिषय विशेषमा मेरो अकण्टक सोधनी देखेर
कसैले जिज्ञासु भने ……….
कसैले हिरो बन्न खोज्यो भने ………
मेरा क्रिया, प्रतिकृया र व्यवहार बाट
कोहि प्रभावित भए ………. 
कोहि प्रताडित भए.........
मेरो सोच र साधना लाई
कसैले औचित्य दिए ,
कसैले अनुचित ठाने……… ।

थाहा छैन मैले के चाहें ? के पाएँ ?
बस्, यत्ति लाग्छ, मैले जे चिहाएँ , त्यो चिनें ।

ठुलो र सानो मान्छेको त्यो बर्गीय सोच
आज एउटै बिशाल वृक्षमा खडा छ
र,
त्यो दृश्य र अदृश्य भागमा विभक्त छ
जहाँ उभिउं,
त्यहाँबाट वृक्षको सम्पूर्ण भाग देखिदैन
मात्र सोच्छु, पक्कै पनि
अदृश्य भाग दृश्य भन्दा धेरै छ, ठुलो छ ..... 

यकिन छैन अझै ;
"म" बदलियाँ वा "यो" बदलियो
कि बदलियौं दुबै ?
या भ्रमिक दर्पण बदलियो
घाम र पानीमा मेरा छाँयाहरु बदलिए जस्तै……… !!!

जिजीबिषाको आँखीझ्याल बाट हेर्दा
मलाई त लाग्छ……
"यहि रमिता, यहि कविता "