रोएर जिन्दगी जो सुरु गरिन्छ,
आदर्शमा अन्यथा जे भनिए पनि,
दुःख र रुवाई नै धेरै झेलिन्छ ।
समय जनाउने घडीको पनि समय सकिन्छ,
कयौं तेजिला दिनको पनि दिन सकिन्छ ।
अकल्पनीय वेदना ब्यहोर्नु पर्छ ,
असह्य चोटको दुखाई खप्न नसकेर
अर्धचेत र अचेत होइन्छ ।
अनर्थ नसोच मेरो मित्र,
चेतनामा जतिसक्दो रुवाउन खोज्नेहरु,
अचेतनामै पनि रोएको देखेर
तिमिलाई "नरोउ" भन्न सक्नेछन् ।
खोलाहरु पत्थर खियाएर गहिरिन खोज्छन् ,
पहाडहरु पत्कर थुपारेर अग्लिन खोज्छन् ।
आफ्नाहरु आफन्त बढेपछी टाढिन खोज्छन्,
धनका घैलाहरु भरिएपछी आफैं रित्तिन खोज्छन् ।
अफसोच नमान मेरो साथी,
यहाँ उच्च मर्यादाको धोती फेरेर बसेकाहरुले
तिम्रो मुल्यवान कोटको तारिफ गर्नेछैनन् ।
तिमिलाई "सन्चै छ ?" भनेर सोध्नेहरुले,
तिम्रो बिसन्चोको समाचार पहिल्यै पाइसक्नेछन् ।
मेरी आमाले पिढिमा चामल केलाउदै गर्दा रत्याएको चरो,
पल्लो घरको पिढिमा गुलेलिको तारो बन्न सक्छ ।
पर सम्म ज्योती पुर्याउन सकेर पनि,
टुकिमुनी अझै अँध्यारो रहन सक्छ ।
नहुनेलाई त्यही माया 'संसार' लाग्नसक्छ
हुनेलाई त्यही माया 'दिक्दार' लाग्नसक्छ ।
त्यसैले
केही बिनौला नगर मेरी सखी
तिमी यहाँ नरोए पनि,
यी माहासागर 'भरी' नै रहन्छ ।
तिमी यहाँ नरहे पनि
यो धर्ती रहिनै रहन्छ ।