शाश्वत बिमोचन

Friday, September 15, 2023

बा

 पहिले बा दिनभरी काममा जानुहुन्थ्यो,

म घरै बस्थें ।

अहिले म दिनभरी काममा जान्छु,

बा घरै बस्नु हुन्छ ।

बा आउने बेला  म बाटो कुरेर बस्थें 

म आउने बाटो कुरेर बा बस्नुहुन्छ ।

बा लाई देखेपछि मेरो खुसीको सीमा हुन्नथ्यो 

मलाई देखेपछि बाको पनि खुसीको सिमा नाघ्छ।

मैले केही मिठाइ बोकेर घर आउँदा बा खुसी हुनुहुन्छ,

जस्तो कि बा ले मिठो खानेकुरा लेराउनु हुँदा मलाई उत्सव हुन्थ्यो  ।

बा लाई नयाँ लुगा ल्याइदिंदा त्यस्तै अनुभुती गर्नुहुन्छ,,

जस्तो बा ले नयाँ लुगा ल्याईदिदा मलाई अनुभव हुन्थ्यो ।



मैले धेरै भकुण्डो खेल्दा बाले हप्काउनु हुन्थ्यो- 'पढाई बिग्रन्छ' ! 

बाले धेरै टिभी हेर्दा म हप्काईदिन्छु - 'आँखा बिग्रन्छ' ।

म नखाई सुतेको बेला खुवाउन उहाँले बलमिच्याई गर्नुहुन्थ्यो ।

उहालाई खानै नरुचेको बेला खाना खुवाउन म उस्तै जिद्दी गरिदिन्छु ।



तपाइँलाई थाहै छ नि बा !

"म कहिल्यै तपाइँ जस्तो बन्न सक्दिन" ।

मैले पनि बुझेको छु  बा !

म शुन्य भए पनि तपाइँ मलाई  'कम भइस्' भन्नुहुन्न ।


मैले पाउडर मिसाईएको प्लाष्टिक प्याकेजमा गन्हाउने पोके दूध ल्याएर खुवाउदा 

कहिलेकाहीँ त भन्नू न बा ;

मैले तलाइ भैसिको थुनबाट सबैभन्दा पहिले दुहेको फिजै फिज उठेको बस्ना आउने दूध खुवाउथें ।

कहिले त सोध्नु न बा ;

तलाई नयाँ लुगा किनेर ल्याईदिदा 'तपाइलाई खै' ? भनेर कहिल्यै सोधिनस् ।

बा मैले जहिले पनि,

तपाईले ल्याउनु भएको मिठाई तपाईंकै भाग राखिन ।

तर तपाइँ जहिले पनि 

मैले थोरै खर्च गर्दा कसरी पुर्‍याउछस् को भाव पोख्नुहुन्छ 

स्कुल त धेरै पढ्न पाउनु भएन,

यो सारा कसरी सोच्नु भयो ?

"तपाईं संग पैसा थियो त?" मैले यो त कहिल्यै सोचिन ।


यो समयको ऐना म यहाँबाट हेरिरहेछु ।

बा ! म पनि आज कसैको बा भएको छु ।