मेहन्दी रंगिएका रंगिन केशहरु ,
हावाको झोक्कामा लहरिंदाका लहरहरुलाई
संग्रह र बिग्रह गर्दा स्पर्शानुभुतिमा
कता-कता किन-किन बिचलित यो मन्
कति विक्षिप्त भएको छ ,
भन्नेले त भन्लान् नै
"जोडी खुब सुहाएको छ !!!"
निर्मम यो निर्जन बगरमा
ज्वारभाटाले छोप्न छोडेका चिप्ला ढुंगाहरु टेक्दै
हठात् लड्दै फेरी अघि बढ्दै
बेतुक जीवनरक्षा खातिर
एक अन्जुली पानी खैंचेर
अंगप्रत्यंगको रोम रोममा सिंचित गर्नुपरेको छ
भन्नेले त भन्लान् नै
"खुब प्यास मेटेको छ !!!"
सजाइएका ध्वजा पताका र टाँगिएका चंदुवा भित्र
अदितिय जिजीबिषा संगाल्दै
मधुकल्पनाले भाबबिभोर
उन्मुक्त बेहुलीलाई
आफु खोक्रिएर, बोक्रिएर
झलमल्ल गोड्धुवा चढाउनु परेको छ
भन्नेले त भन्लान् नै
"उसलाई मनग्य पुगेको छ !!!"
उखरमाउलो गर्मि सकिएपछी
हुर्केको न्यानो काँचो घामको जवानिसंग
नजानिदो र अभ्यस्त प्रेम गाँस्दै
लजाउँदै, ललाउँदै, फकाउँदै
चोइटिएर हाँस्नुपरेको छ
भन्नेले त भन्लान् नै
"फलानोलाई बडादशैं खुब लागेको छ!!!"
"दशैं आएको छ ............................"
No comments:
Post a Comment